नेतृत्वमा पुग्ने आधार बताउँदै काँग्रेसका युवाहरु

सन्तोष के.सी.
नेपालगञ्ज – राजनीति सेवा भावबाट च्यूत हुँदै ब्यवसाय मुखी बनाउँदै लैजाँदा राजनीतिकदलमा आबद्ध युवा शक्ति राजनीतिमा नेतामुखी हुन बाध्य भइरहेका छन् ।
पछिल्लो समय जुनसुकै राजनीतिक दलमा किन नहोस् नेताको नजिकमा रहेका युवा अनुहार नै पदमा स्थापित हुने गरेका छन् । संगठन निर्माण, जनताको जनजीविका र सामाजिक गतिविधिमा संलग्न तल्लो तहमा लोकप्रिय रहेका युवा अनुहारहरु रजनीतिक दलको मथिल्लोतहका नेताहरुको रोजाईमा पर्दैनन् ।
आखिर किन यस्तो हुन्छ त ?
यसका कारण अनेकन छन् । निहित कारणहरु पनि छन् । ति मध्य मुल कारकका रुपमा मथिल्लो नेतृत्व पंक्तिले आफ्नो एस म्यान खोज्ने प्रवृत्ति नै हो । यही विषयमा काँग्रेसका अगुवा युवाहरुले भाषण गर्दा भनेका कुराहरु र कतिपयले आफ्नो भनाईलाई आ आफ्नै तरिकाले ब्यक्त गर्ने गरेका छन् ।
भुमबहादुर भण्डारी भन्छन्, नेतृत्वले नीतिगत तहमा वा संगठनको विधिपूर्वक सञ्चालनमा आँफु सरह बहस गर्न खोज्ने युवालाई अघि बढ्न दिंदैनन्, कारण स्पष्ट छ कि उसले विधि विधान र प्रक्रियामा असहमति राख्ने लियाकत राख्छ । त्यसैले युवाहरुलाई नेतृत्व तहमा स्थापित हुन धौ धौ परेको छ ।
नेपाली काँग्रेस कोहलपुर नगर कमिटिका सचिव समेत रहेका भण्डारी भन्छन्, चरम ग्रुपिज्मको कारण पनि दलहरु जनता भन्दा पर पुग्ने गर्छन् । भण्डारी थप्छन्, अर्को विडम्बना के पनि छ भने नेतृत्वले युवाहरुलाई नेतृत्व दिन भन्दा एस म्यान बनाउन खोज्ने परीपाटीले युवा नेतृत्व स्थापित हुन सकेको छैन ।
नेपाली काँग्रेस महाधिवेशनको संघारमा छ । बाँके काँग्रेसको क्षेत्र नं. १ को सक्रिय सदस्यता विवादा कारण यतिबेला बाँकेमा कुनै पनितहका अधिवेशन हुन सकेका छैनन् ।
कुनै बेला केन्द्रिय सभापति पाएको बाँकेमा यतिबेला सदस्यता विवादले गर्दा रजनीतिक रुपमा केन्द्रको चासो भन्दा बाहिर तर संगठनको संकट छ ।
बाँके काँग्रेसमा यतिबेला युवा अनुहारहरु नेतृत्वका लागी प्रयासरत छन् । तर संगठनमा उनिहरुको हस्तक्षेपकारी प्रभाव स्थापित हुन सकेको छैन ।
बाँके काँग्रेसका सचिव युवा नेता तप्त पौडेल भन्छन्, पद्धति र प्रक्रियामा समाहित भएर युवाहरु अघि बढे नेतृत्व तहमा पुग्न सकिन्छ ।
नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य युवा नेता विरेन्द्र बहादुर शाह भन्छन्, नेतृत्व तहमा पुग्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्नै पर्छ । त्यसैले यो पटक आँफु संगठनमा त्यही स्तरको भूमिकाका लागी तयारी रहेको बताउँछन् ।
नेपाली काँग्रेसमा युवाहरु नेतृत्व तहमा प्रतिनिधित्वका विषयमा भइरहेका प्रयास स्वाभाविक तह अघि बढ्नु पर्ने कुरामा आँफु लागि परेको कुरा बताउँछन् बाँके काँग्रेसका युवा अनुहार टेक नारायण भुषाल ।
बाँके काँग्रेसमा युवाहरु कसरी स्थापित हुन्छन् त यतिबेला भन्ने प्रश्नको जवाफमा पत्रकारिताबाट सक्रिय राजनीति तर्फ अघि बढेका युवाचेहरा पोषण केसी भन्छन्, जनताको सेवा नै राजनीतिमा स्थापित हुने असल बाटो हो । संगठनका आन्तरिक चुनावमा युवाहरुले स्वस्थ प्रतिष्पर्धा गर्नु पर्छ ।
युवा नेतृत्व स्थापित हुन के गर्नु पर्ला त भन्ने सवालमा नेपाली काँग्रेस नेपालगन्ज नगरकमिटिका सभापति प्रशान्त विष्ट भन्छन्, निरन्तरसंगठनका काममा लाग्नु पर्छ । युवासँगको जोश र शक्ति जनताको हितमा लगाउँदै जाने हो भने नेतृत्वमा पुग्न सकिन्छ ।ु
नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्य नेतृत्वमा पुग्ने युवाहरुले राजनीतिक अडान नै माध्यम बनाउनु पर्ने बताउँछन् ।
वर्तमान र भविष्य जोड्ने कडि नै युवा भएकाले अग्रजको सम्मान गर्दै संगठनमा भिज्दै जाँदा युवा नेतृत्व स्थापित हुने बताउँछिन् बाँके काँग्रेस जिल्ला कमिटि सदस्य माया पुन ।
नेपाल तरुण दलका जिल्ला सचिव काँग्रेसका अर्का युवा अगुवा बिनोद रिजाल नेतृत्व तहमा युवा स्थापित हुनलाई जस्तो सुकै अनुकुल वा प्रतिकुल परिस्थितिमा पार्टीको फ्रन्ट लाईन मा रहेर जनतालाई केन्द्रमा राखेर काम गर्न सके आन्तरिक चुनवका माध्यमबाट नेतृत्वमा पुग्ने बताउँछन् ।
पटक पटक बदलिएको चुनवी तालिकाबाट निराश भएका बाँके काँग्रेसमा आबद्ध युवाहरु परिस्थिति अनुसार चल्न सक्नु पर्छ भन्नेकुरालाई एकमत भएर आत्मसाथ गरिरहेका बुझिन्छन् ।
जानकी गाऊँपालिकाका काँग्रेसका एकजना युवा चेहरा टिकानाथ यादव भन्छन, नेतृत्वमा पुग्न संगठनमा निरन्तर इमान्दारिका साथ कामगर्नै पर्छ । न कि कुनै अमुक नेताको भरमा माथि पुगिएला भनेर ।
तल्लो तहका अधिवेशनमा उम्मेद्वारी दिन तयारी रहेका बाँकेका युवाहरु मध्येका एक अर्का युवा हुन हिालाल लोनिया । मधेशआन्दोलनको राप र तापबाट जुरमुराएका लोनिया यतिबेला काँग्रेसका आशा लाग्दा युवा नेता हुन् । उनि भन्छन्, नेतृत्व तहमा पुग्न समावेशिताको भावना सँगै संगठन मजवुत गर्दै अघि बढ्नु पर्छ ।
अनुशासन र संगठन प्रतिको ईमान्दारिता नै नेतृत्वमा स्थापित हुने मुख्य आधार हो भन्छन् नेपाल तरुणदल नेपालगन्ज नगर कमिटी अध्यक्ष सन्दिपजंग शाह ।
बैजनाथ गाउँपालिकामा लोकप्रिय रहेका काँग्रेसका युवा नेता डम्बर रावत भन्छन्, काँग्रेस महासागर हो, महासागरबाट मोति बनेर निस्कनु चुनौतीपूर्ण छ । तर आँफैमा सकारात्मक सोंचका साथ संगठन निर्माण गर्दै अघि बढे नेतृत्वमा पुग्न सकिने उनको धारणा छ ।
नेपाली काँग्रेसको केन्द्र र जिल्लाको राजनीतिलाई नजिकबाट नियालि रहेका युवा पत्रकार बसन्तकुमार उपाध्याय काँग्रेसमा युवा नेतृत्व कसरी स्थापित होला त भन्ने सवालको बिश्लेसनात्मक जवाफमा भन्छन्, राजनीतिलाई ब्यवसायीकरण र ब्यवसायाई राजनीतिकरण हुनबाट रोक्नु पर्छ । उनि थप्छन्, नेतृत्वमा पुग्न काँग्रेसी युवाहरुको सोंचमा युवापन हुनुपर्छ । युवाहरु अध्ययनशील हुनुपर्छ, मुद्दामा केन्द्रित भएर जनजिविकाको सवालमा संगठनलाई चलायमान गराउन सके युवाहरुको नेतृत्वमा पहुँच सहज हुँदै जान सक्छ ।
यसरी बाँके काँग्रेसमा नेतृत्वमा पुग्न प्रयासरत युपा अनुहारहरु संगठनको आन्तरिक चुनावका लागी तयारी अवस्थामा रहेको बुझिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !