बस्ती छेउछाउमा बाघ देखिदा गाउँले त्रसित

नेपालगञ्ज – राप्तीसोनारी–१, गाभरमा मंगलबार पनि बाघ देखिएको छ । पूर्वपश्चिम राजमार्गको गाभर खण्डमा सडक क्रस गरिरहेको बाघ देखिएको हो । गाभरमा सोमबार मात्रै बाघले एकजनाको ज्यान लिएको थियो ।
राजमार्गमा मंगलबार एकजना मोटरसाइकलमा पूर्वतिर गइरहेको बेलामा बाघले सडक पार गरेको थियो । मोटरसाइकल चालकले झ्याप्प ब्रेक लगाउदा दुर्घटना हुनबाट जोगिएको थियो । ‘बाघले दौडेर सडक पार गरेको थियो, मोटरसाइकल चालक नजिकै पुगेका रहेछन्, उनले झ्याप्प ब्रेक हानेछन्, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले भन्नुभयो, बाघ गइहाल्यो । मोटरसाइकल चालकले झ्याप्प रोक्दा एकछिन बेहोसजस्तै भएछन् ।’


बाघले मान्छे खाएपछि गाभर गाउँ त्रासमा छ । गाउँलेहरु गोठाला जादा पशुमात्रै होइन कि मान्छे नै फर्किने हो कि होइन भन्ने चिन्तामा छन् । ‘चराउन लगेको गाईबस्तु धेरै बाघले खाएको छ । अब त गोठाला नै फर्किन्छन् कि फर्किदैनन् भन्ने भइसक्यो, स्थानीय गणेशबहादुर खत्रीले भन्नुभयो, रातीमा शौच गर्न बाहिर निस्किदा पनि डर नै छ ।’
स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्गको शिवखोला गाभर क्षेत्रमा साँझ ७ देखि विहान ६ बजेसम्म पैदल, मोटरसाइकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ । दिउँसोमा पनि समूह बनाएर पठाउन थालेको छ ।
बाघले मान्छे खाएको ठाउँ भट्टीखोला छेउछाउमा निकुञ्ज प्रशासनले ६ वटा क्यामेरा जडान गरेको छ । निकुञ्जले दुई वटा हात्ती लगेर बाघको निगरानी गरेको छ । वार्डेनी शाहले क्यामेरामा बाघको गतिविधि हेर्ने र आवश्यक परेर नियन्त्रणमा लिइने बताउनुभयो ।


पूर्वपश्चिम राजमार्गमा रहेकाले गाभरमा दिउँसो चहलपहल हुने गर्दछ । रातीमा सुनसान हुन्छ । स्थानीय चन्द्र मगरले रातीमा बाघको डर हुने गरेको बताउनुभयो । उहाँका अनुसार, बाघले केही महिनादेखि नै गाउँको चराउन लगेको बाख्रा, गाईबस्तु खाने गरेको थियो । मान्छे खाने बाघलाई नियन्त्रणमा लिनका लागि स्थानीयले निकुञ्ज प्रशासनलाई दबाब दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !