बाघले मान्छे खायो
नेपालगञ्ज – बाँकेमा बाघले मान्छे खाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटे बाघले राप्तीसोनारी गाउँपालिका वडा नं. १, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई खाएको हो । स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका मानिसलाई बाघले खाएको निकुञ्जका वार्डेन श्यामकुमार शाहले जानकारी दिनु भएको छ ।
केही दिनदेखि होटलमा काम गरिरहेका भारतीय मूलका ती व्यक्ति हिजो साँझदेखि हराइरहेका थिए । उनको विहान साढे सात बजे निकुञ्जभित्र एउटा खुट्टामात्रै भेटिएको वार्डेन शाहले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर उत्तरमा निकुञ्ज भित्र ती व्यक्तिको खुट्टा भेटिएको थियो । बाघले खाएको मान्छेको सनाखत हुन सकेको छैन । होटल सञ्चालकहरुले भैया भनेर बोलाउने गर्दथे ।
वार्डेन शाहले केही दिनदेखि त्यस क्षेत्रमा बाघ देखिएकाले सतर्क रहन स्थानीय जानकारी गराइरहेका बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ रहेका छन् । गाभर क्षेत्रमा दुई दिनअघि मात्रै गाउँमै पसेर बाघले दुई वटा बाख्रा र एउटा बाच्छो मारेको स्थानीयले बताएका छन् ।