चिटिक्क पारिदै रंगशाला
नेपालगञ्ज – नेपालगञ्ज रंगशालाको सरसफाई गरिएको छ । घाँसले ढपक्क ढाकेको फुटबल मैदान र ट्रयाकको घाँस काटिएको छ भने प्याराफिटको सरसफाई गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने क्रममा बनेका करोडौका संरचनाको व्यवस्थापनमा केन्द्रले बेवास्ता गर्दा सबै संरचनाहरु जीर्ण हुने अवस्थामा पुगेका छन् । आइतबार मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति र नेपाली सेनाको राँझामा रहेको भैरवप्रसाद गणको समन्वयमा रंगशालाभित्रको मैदानको घाँस काटिएको छ भने प्याराफिटको सरसफाई गरिएको हो ।
कोरोनाको कारण देखाउदै विगत दुई वर्षदेखि रंगशाला बन्द नै रहेको छ भने आर्थिक अभावले राम्ररी रेखदेख हुन सकेको छैन । केन्द्रीय सरकारको मातहतमा रहेको रंगशाला व्यवस्थापनका लागि दुई वर्षदेखि पैसा पठाइएको छैन ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले आर्थिक अभावमा रंगशालाको पूर्ण सरसफाई र व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार, रंगशालाको सरसफाईदेखि व्यवस्थापनका लागि वार्षिक दश लाख रुपैया पठाउनु पर्छ । दुई वर्षदेखि पैसा नै आएको छैन ।
आठौंको बेलामा रंगशालाको फुटबल मैदानमा ३६ लाखको बर्मुडा घाँस रोपिएको थियो । अहिले बर्मुडा घाँसको देख्न पाइदैन । स्थानीय जातको घाँसले मैदान ढाकेको थियो । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले सहयोगमा रंगशाला चिटिक्क पार्ने काम भएको छ । नेपाली सेनाले रंगशालाको सरसफाईदेखि मैदानको घाँस काटिरहेको छ ।
तीन दिनमा मैदान र ट्रयाकको घाँस काटिसक्ने बताइएको छ । दुई वटा मेसिनले घाँस काटिरहेको छ । घाँस काटेर खेल्न मिल्ने भएपछि खेलाडीहरुलाई अभ्यास गर्न दिने तयारी गरिएको छ । रंगशालामा फुटबल खेल्न नदिइएकाले पनि घाँस उम्रिएको हो ।
रंगशालालाई चिटिक्क पार्ने क्रममा नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन टण्डन, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकर, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारीलगायत फुटबल प्रशिक्षक, पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।