माइती नेपालद्वारा शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र सञ्चालन

बर्दिया – माइती नेपाल, बर्दियाले मधुवन नगरपालिकाको वडा नं. ५, शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्रको स्थापना गरेको छ ।
सूचना तथा परामर्श केन्द्रको उद्घाटन गर्दै मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले नगरपालिकाका सबै वडाहरु भारतसँग सीमा जोडिएको र खुल्ला नाका भएकाले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेकोमा शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र राखेर माइती नेपालले राम्रो काम गरेको बताउनुभयो ।
उहाँले मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागि आफू र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
मधुवन नगरपालिका वडा नं. ५ का अध्यक्ष कर्णबहादुर खड्काले मानव बेचबिखन जघन्य अपराध भएकाले यसलाई रोक्नका लागि माइती नेपालसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यपालिका सदस्य मिना वली, महिला शाखा प्रमुख एवं मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण स्थानीय समितिका सदस्य सचिव इन्द्रा चुनाराले मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिका संयोजक नगर प्रमुख गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, सशस्त्र प्रहरी निरीक्षक रामबहादुर रोकाय, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सिताराम चौधरी, सहायक निरीक्षक लालबहादुर साउदलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !