बेचबिखनविरुद्ध अन्तरक्रिया

बर्दिया – माइती नेपाल, बर्दियाले मानब बेचबिखनबिरुद्ध सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा मानब बेचबिखनका घटना रोकथाम तथा न्युनिकरण गर्नका लागी सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धता गरेका छन् ।
बेचबिखनका लागि बर्दिया चलनचल्तीको बाटो मानिएको छ । पहाडी जिल्लाबाट बर्दियाको बाटो प्रयोग गर्दै महिला बालबालिका बेचबिखनमा पर्ने गरेको पाइन्छ । माइती नेपालले बर्दियामा महिला बालबालिकाको उपस्थितिमा निगरानी समूह बनाएर रोकथाम र सचेतनाका कार्यहरु गर्दै आइरहेको छ । गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीले बर्दियाको गुलरिया नगरपालिकाका १२ वटै वडा भारतीय सीमासँग जोडिएकाले ओसारपसारको जोखिम रहेको उल्लेख गर्दै जोखिमपूर्ण यात्रालाई रोक्नका लागि सरोकारवाला एक अर्कामा हातेमालो गर्दै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बर्दिया जिल्लाका अधिकांश नागरीक बैदेशिक रोजगारीका लागी जाने गरेको र जोखिममा पर्ने गरेको, अशिक्षा, गरीवी, चेतनाको कमीलगायतका कारणले महिला बालबालिका मानब बेचबिखनमा पर्ने गरेको कुरा बताउनु भयो ।
माइती नेपाल, बर्दिया संयोजक गायत्री रिमालले सहजीकरण गरेको कार्यक्रममा प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्य, बर्दिया जिल्ला अदालत बार एसोसियनका अध्यक्ष काशीराम चौधरी, गैसस महासंघका अध्यक्ष विष्णु तिमिल्सिना, सरकारी कार्यालयका जिल्ला न्यायाधीवक्ता खडकबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !