फागुको ह्याट्रिकमा तुलसीपुर प्रथम
नेपालगञ्ज – फागु थारुको ह्याट्रिकसहित तुलसीपुर–११ बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ६, दमौलीमा भएको क्लवस्तरीय फुटबल प्रतियोगितामा प्रथम भएको छ ।
दमौली युवा क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनलमा तुलसीपुरले बाँकेको सिमलघारी युवा क्लवलाई ५–१ गोलले पराजित गरेको हो । तुलसीपुरलाई जिताउन फागु थारुले ह्याट्रिक गरे भने आशिष थारु र अविनास थारुले एक÷एक गोल गरेका थिए । सिमलघारीको तर्फबाट एकमात्र गोल रामबहादुर वलीले गरेका थिए ।
२० वटा क्लवले भाग लिएको प्रतियोगिताको विजेता तुलसीपुरले दश हजार रुपैया र द्वितिय भएको सिमलघारीले पाँच हजार रुपैया पुरस्कार पाएको छ । प्रतियोगिताका विजेताहरुलाई बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताभरि नै विवश गुरुङ, शिवप्रसाद अधिकारी, सुदीप घर्ति, गोपी घर्तिलगायतले रेफ्रीको भूमिका निभाएका थिए ।