नौबस्ता औद्योगिक क्षेत्रको टेण्डरसम्म हुन सकेन

नेपालगञ्ज – बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको ६ महिना हुँदासमेत टेण्डरसम्म हुन सकेको छैन ।
२०७७ फागनु ११ गते तात्कालिन उद्योग मन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म त्यहाँ संरचनाहरु निर्माणका लागि टेण्डरसम्म हुन सकेको छैन । न त औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्कासीको व्यवस्थापन नै हुन सकेको छ ।
औद्योगिक क्षेत्र निर्माण गरिने भनेर छुट्याइएको करिब ७० विगाह क्षेत्रमा २ सय ५९ परिवार सुकुम्बासी बस्दै आएका छन् । सुकुम्बासीले आफुहरुको बसोबासको बैकल्पिक ब्यबस्था नहुँदासम्म औद्योगिक क्षेत्र निर्माण गर्न नदिने चेताबनी दिदै आएका छन् । सुकुम्बासीले आफुहरुको बैकल्पिक ब्यबस्था नगरी औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भन्दै नाराबाजी र प्रर्दशन गरेका थिए ।
औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तात्कालिन उद्योग मन्त्री भट्टले सुकुम्बासीको समस्या हल गरेरै औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको ६ महिना बिते पनि सुकुम्बासीको समस्या समाधान गर्ने र औद्योगिक क्षेत्र निर्माण तर्फ कुनै प्रगति भएको छैन ।
नौबस्ता औद्योगिक क्षेत्रका ब्यबस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले संरचना निर्माणका लागि ७८ करोड बजेट छुटाइएका कारण छिट्टै टेन्डर निकालेर काम शुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।
नेपालगञ्ज क्षेत्रमा नयाँ उद्योग खोल्न चाहने उद्योगी ब्यबसायीको आकर्षण बढ्दो छ । तर सरकारले सडक, ढल र बिद्युत, खानेपानी सुरक्षा लगायतका भौतिक संरचनाहरुको सुबिधा भएको औद्योगिक क्षेत्र निर्माण नगरिदिएका कारण उद्योगी ब्यबसायीहरु हात खुम्चाएर बस्न बाध्य छन् । नौबस्तामा औद्योगिक क्षेत्र खोल्ने भनेपछि २ सय ५० जना उद्योगीले उद्योग खोल्नका लागि निवेदन दिइसकेका छन् ।
आगामी ५ बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रको निर्माण कार्य सम्पन्न गर्नका लागि करिब ९ अर्ब लाग्ने अनुमान गरिएको छ । औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भए पछि करिब १० हजारले प्रत्यक्ष रुपमा रोजगारी पाउने अनुमान गरिएको छ ।
५ सय २५ विगाहको औद्योगिक क्षेत्र बनाउने घोषणा भएको नौबस्तामा सरकारले ३ सय ३८ विगाहको लालपूर्जा तयार गरेको छ । यहीभित्र २ सय ५९ घरपरिवार सुकुम्बासीले ७० विगाह जमिन ओगटेका छन् । दश विगाहमा कारागार र दश विगाह सशस्त्र प्रहरीले भोगचलान गरेको छ । सुकुम्बासी, सशस्त्र प्रहरी र कारागारले ओगेटेको क्षेत्र छोडेर २ सय ३८ विगाहमा औद्योगिक क्षेत्रको काम शुरु गर्ने तयारी भएको पुनले जानकारी दिनुभयो ।


औद्योगिक क्षेत्र भरिभराउ
नेपालगञ्ज औद्योगिक क्षेत्रमा दिनको दुई-तीन जना उद्योगीले ‘ठाउँ छ कि’ भनेर सम्पर्क गर्छन् । विगत एक दशकदेखि औद्योगिक क्षेत्रका प्रमुखको एउटै जवाफ आउने गरेको छ, ‘ठाउँ छैन, सबै भरिभराउ’ छन् ।
नेपालगञ्ज औद्योगिक क्षेत्रका प्रमुख कृष्णबहादुर पुनले दश वर्षदेखि औद्योगिक क्षेत्र भरिभराउ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, उद्योगीहरु ठाउँ खोज्नका लागि दैनिक आइरहनु हुन्छ, सम्पर्क गर्नु हुन्छ । हामीले छैन भनेर फर्काउनु परेको छ ।
वि.सं. २०३० सालमा नेपालगञ्ज औद्योगिक क्षेत्रको स्थापना भएको छ । दुई सय ३३ रोपनी जग्गामा फैलिएको औद्योगिक क्षेत्रमा ३६ वटा उद्योग छन् । औद्योगिक क्षेत्र प्लाष्टिकजन्य, प्लाइउड, विजुली, जडीबुडी, खाद्य उद्योगहरु रहेका छन् ।
नेपालगञ्जको बीच बजारमा रहेको औद्योगिक क्षेत्रबाट ठूलो मुश्लो निस्किने गर्दछ । यसले वातावरणलाई असर गरेको बताउनेहरु धेरै छन् । अदालतसम्म पुगेको यो विषयमा केन्द्रबाट विज्ञ बोलाएर परीक्षण हुँदै आएको छ । अहिलेसम्म वातावरणमा असर परेको रिपोर्ट आइसकेको छैन । बोइलर राखेका धुवाजन्य उद्योग दुई वटा छन् । चिम्नी राखेका उद्योग पनि छन् ।
लामो समयदेखि केही व्यक्तिले औद्योगिक क्षेत्रमा अड्डा जमाएर बसेका छन् । माओवादी द्वन्द्वकालमा केही खाली भएपनि एक दशकदेखि औद्योगिक क्षेत्रमा भरिभराउ रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !