पत्रकारको आवरणमा ब्राउनसुगरको कारोबार

नेपालगञ्ज – पत्रकारको परिचय बोकेका भारतीय नागरिक नेपालगञ्जमा ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
नेपालगञ्जको वडा नं. १२ मा कोठा भाडा लिएर बसेका दुई जना भारतीयसहित तीन जनालाई लागु औषध नियन्त्रण ब्यूरो, वडा प्रहरी र जिल्ला प्रहरीको टोलीले ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, भारत उत्तरप्रदेश जिल्ला बहराइच बस्ने २८ वर्षको मो. सलमान खान, भारत लखनउका २८ वर्षका मुस्तकिम सिद्धिकी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का २२ वर्षीय आजाद कवडियालाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।


पक्राउ परेका मो. सलमान खानसँग दिल्ली क्राइम राष्ट्रिय पत्रिकाको परिचय रहेको छ । पत्रकारको भेषमा उनले नाकामा सहजै आवतजावत गरेको देखिन्छ । मुस्तकिम नेपालगञ्जमा सुनपसलमा काम गर्छन् । उनीहरु नेपालगञ्जमा कोठा भाडामा लिएर बसेका थिए । बाहिरी आवरणमा पत्रकार र सुन पसलमा काम गर्ने देखिएपनि उनीहरुको असली धन्दा लागु औषधी ब्राउनसुगरको कारोबार गर्ने रहेको खुलेको छ । उनीहरुको कोठाबाट ब्राउनसुगर तौलिने डिजिटल तराजुसमेत बरामद भएको छ ।
सलमान र मुस्तविमले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरेर नेपालगञ्जमा तीन देखि चार हजारसम्ममा बिक्री गर्ने गरेको खुलेको छ ।


error: यो सुविधा उपलब्ध छैन !