चल्ने भए लामो र मध्यम दुरीका सवारी साधन
नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले लामो र मध्यम दुरीका सवारी साधन सञ्चालन गर्न सम्बन्धित निकायलाई सूचित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोगलगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमन समेतलाई दृष्टिगत गरी लामो र मध्यम दुरीका यातायात सञ्चालन गर्न गराउनु हुन सूचित गरिएको छ ।
प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारको साउन चार गतेको निर्णय तथा गृहमन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रबाट समेत लेखि आएको हुँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न गराउनु हुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
नेपालगञ्ज क्षेत्रमा बैशाख ९ र जिल्लाभरी बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । लामो दुरीका सवारी साधन सञ्चालन भइरहेका थिएनन् । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गर्दै लगेपछि मध्यम दुरीका सवारी साधन सञ्चालनमा आइसकेका थिए । यता कोरोनाको संक्रमणदर नियन्त्रण नजिक आइसकेको छ ।