असार आधा सकिदा बाँकेमा ४५ प्रतिशत रोपाई
नेपालगञ्ज – असार आधा सकिदा बाँकेमा ४५ प्रतिशत रोपाई भएको छ ।
सिक्टा सिंचाईले छोडेको पानी र समयमै आकाशे पानी परेकाले यतिबेला बाँकेका किसान धान रोप्न व्यस्त रहेका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले जिल्लामा ४५ प्रतिशत धान रोपाई भइसकेको जानकारी दिए । उनले भने, ‘दिनमा ५÷७ प्रतिशत धान रोपाई भइरहेको छ ।’
बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुन्छ । प्रतिहेक्टरमा ४.३ मेट्रिक धान उत्पादन हुने गर्दछ । यो उत्पादन गतवर्षको हो । ढकालले अघिल्लो वर्ष भन्दा गतवर्ष उत्पादन बढेको बताए । यो वर्ष समयमै धान रोपाई भइरहेकाले उत्पादन बढ्न सक्ने बताए ।
सिक्टा सिंचाई आयोजनाले पानी छोड्दा किसानले समयमै बिउ राख्न पाएका थिए । त्यसमा आकाशे पानी समयमै परेपछि जिल्लामा धमाधम रोपाई भइरहेको हो । सिक्टाका प्रमुख लोकबहादुर थापाले सिक्टाले पश्चिमको मूल नहर र राजकुलोमा पानी छोडिरहेको बताए । ‘सिक्टाले पानी छोडेपछि बाँकेमा पहिलो पटक यसपाली चैते धान फलाइएको छ, अरु किसानले पनि समयमै बिउ राखेर यतिबेला रोपाईमा व्यस्त छन्, सिक्टाका प्रमुख थापाले भने ।
किसानको भविष्य बदल्ने आशाको केन्द्र मानिएको सिक्टा सिंचाई पूर्णरुपमा सञ्चालन आउदा बाँकेको ४२ हेक्टर बढी खेतमा पानी पुग्ने बताइएको छ ।