जाँच गरेकोमध्ये आठ प्रतिशतलाई कोरोना

 

नेपालगञ्ज – बाँकेमा मंगलबार एक सय ३४ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको छ । त्यसमा तीन जना बाँकेका रहेका छन् ।
बैशाखमा कोरोना परीक्षण सतप्रतिशतजसो पोजिटिभ पुष्टि भएको बाँकेमा अहिले आठ प्रतिशतमा झरेको छ । कोरोना जाँच गर्ने र संक्रमण दर पनि घटेको छ ।
भेरी अस्पतालमा ५६ जनालाई जाँच गर्दा ८ जना, कोहलपुर मेडिकल कलेजमा ४९ मा चार जना र बागेश्वरी ल्याबमा २९ जनालाई परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि नभएको जिल्ला कोभिड फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
बाँकेमा कोरोना संक्रमित ७५ जना रहेका छन् । १९ जना सिकिस्त, २५ जना मध्यम र ८ जना भेन्टिलेटरमा रहेका छन् । कोरोनाका विरामीले भरिभराउ हुने गरेका अस्पतालहरुमा अहिले ८८ प्रतिशत बेड खाली भएका छन् । अहिले बाँकेका अस्पतालमा उपचार गराइरहेका ८० प्रतिशत विरामी बाहिरी जिल्लाका रहेका छन् ।
जिल्लामा मंगलबार १२ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण दर घटेपछि बाँकेमा लगाइएको निषेधाज्ञाविरुद्ध आवाज उठ्न थालेको छ । व्यापारीले विरोध शुरु गरेका छन् । जिल्लामा पछिल्लो पटक १४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !