अब बन्दाबन्दी लम्ब्याउनुको औचित्य छैन

नेपालगञ्ज – बन्दाबन्दी (लकडाउन) भएको लामो समय भयो । जनस्वास्थ्यको हिसाबले कोभिड–१९ लाई नियन्त्रण गर्न मानिसको आउजाउ कम गरेर रोग सर्न कम गर्न नेपालमात्र होइन विश्वका धेरै देशले अवलम्बन गरेको नीति हो यो ।
हालै नेपाल सरकारले ‘स्मार्ट लकडाउन’ गरिनेछ भनेर भनेको छ । यो भनेको कस्तो हो ? यदि तथ्यांकमा आधारित विश्लेषणको आधारमा लकडाउन लागु गर्ने÷खुकुलो पार्ने हो भने खोइ त स्थानीय प्रशासनले त्यो गरेको ?
नेपालगञ्जमा चैतको अन्तिम सातादेखि केश बढ्न थाल्दा प्रशासनलाई लकडाउनको निम्ति आग्रह गर्दा त्यसलाई गम्भीरतापूर्वक लिइएन । ‘काठमाडौंले निर्देशन गरेकै छैन, हाम्ले मात्र गर्दा धेरै त्रासको वातावरण सृजना होला वा व्यपार व्यवसायमा असर पर्ला’ कि भनेर संकोच मान्दा मान्दै आखिरमा बैशाख ९ गतेबाट मात्र लकडाउन गरियो । परिणाम, त्यसले रोग नियन्त्रणमा कुनै प्रभाव पार्न नसकेको ग्राफबाट प्रस्ट हुन्छ ।
भेरी अस्पतालको तथ्यांक केलाउने हो भने बैशाखको २० देखि जेठको १० गतेसम्म कोभिडका बिरामीको पहिचान र भर्ना हुने क्रम उच्च बिन्दुमा रहेको देखिन्छ भने त्यसपछि क्रमिक रुपमा घट्दो । लामो लकडाउनले मर्कामा परेका समाजका हरेका क्षेत्र र व्यवसायका व्यक्तिलाई सामान्य जनजीवनमा फर्किन मद्दत होस् भनेर जेठको अन्तिममा अब लकडाउन हटाउने तर्फ सोच्नु पर्छ तथ्यांकमा आधारित सुझाव दिएकै हो । तर काठमाडौंले निर्णय नगरि केही गर्दा बढ्ता गरेको ठहर्छ कि भन्ने केन्द्रिकृत शासनको धङ्धङी अझै नहटेको महशुस हुन्छ ।
ग्राफमा प्रस्ट देख्न सकिन्छ, जम्मा परीक्षण, पोजेटिभ आउने रेट जेठको दोश्रो सातापछि निरन्तर ओरालो नै लागेको छ । यो क्षेत्रकै रेफरेन्स प्रयोगशाला भएकोले भेरी अस्पालको पीसीआर ल्याबमा अन्य जिल्लाबाट समेत नमुनाहरू आउने भएकोले त्यो सुन्य नै हुन अझै केही समय लाग्न सक्छ । तर बाँके र बर्दियाको केश लोड पनि निकै घटिसकेको छ ।
तथ्यांकले यसरी पुष्ट्याउँदा पनि यो वा त्यो आवरणमा कमसेकम बाँकेमा लकडाउन लम्ब्याउनुको औचित्य छैन ।
निरन्तरको लकडाउनले कोभिड बाहेकका बिरामीहरुले निकै दुख पाइरहेका छन् । नियमित फलोअपमा आउनुपर्ने र औषधि खाइराख्नु पर्ने दीर्घ किसिमका रोग लागेका बिरामीहरु जटिलता लिएर आउन थालेका छन् । अटो वा एम्बुलेन्स लिएर अस्पतालसम्म आउनुपर्दा बिरामीहरुलाई परेको आर्थिक मारको पाटो बेग्लै छ ।
हो, लकडाउन पूर्ण रुपले खोल्दा फेरी कोभिडको चाप बढ्छ कि भन्ने संसय हुनु स्वभाविक हो । ज्वरो आउँदा टाइफाइड हो भन्दौ घरमै औषधि खाँदै बसेका बिरामीहरु अस्पतालसम्म आउँदा केही मात्रामा नयाँ रोगीको पहिचान बढ्न सक्ला तर त्यो पनि रोग नियन्त्रणमा सहयोगी नै हुन सक्छ । जाम भएको पाइपलाई खोल्दा सुरुमा केही लेदो आए पनि आखिरमा त्यसले संग्लो पानीको आपूर्ति नै सहज पार्ने हो ।
त्यसैले काठमाडौं र भारतले जे जे गर्छ, त्यसको अनुकरण गर्नुको सट्टा आफ्नै तथ्यांक केलाएर तर्कसंगत निर्णय लिने हो कि ? त्यो नगर्ने हो भने संघीयता, विकेन्द्रीकरण र स्थानीय सरकारलाई यत्रो स्वायत्तता दिएको के काम लाग्यो ?


error: यो सुविधा उपलब्ध छैन !