डुडुवामा वडास्तरीय योजना धमाधम छनौट
डुडुवा – संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारी गरेका छन् । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । यही असार १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले नीति तथा कार्यक्रम र बजेट ल्याउदैछ ।
कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, बन तथा बातावरण, विकास निर्माणलगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठूला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
स्थानीय तहमा योजना छनौटका चरणअन्र्तगत अहिले वडास्तरिय योजनाहरु छनौट भइसकेर आउने क्रम जारी छ भने ती योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गर्नेछ । कार्यपालिकाको बैठकपछि गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।
गाउँपालिकाले विगतका वर्षदेखि सञ्चालन गरेको स्वास्थ्य, पशुलगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठूला तथ महत्वपूर्ण योजना र बन ऐनलगायतका केही नया विधेयकहरु नवौ गाउँसभामा प्रस्तुत हुने गरि तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।