भेरीले असार एक गतेदेखि ओपीडी सञ्चालन गर्ने

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने तयारी गरेको छ ।
कोरोनाको महामारीले गर्दा ओपीडी बन्द गरेको भेरी अस्पतालले असार १ गतेदेखि ओपीडी सञ्चालन गर्ने जनाएको हो ।
भेरीमा अहिले ६८ जना कोरोनाका विरामी रहेका छन् । महामारी उत्कर्षमा पुगेका बेला ३ सय २६ जनासम्म विरामी पुगेका थिए ।
भेरीमा दुई सय बेड छन् । त्यसमा अहिले एक सय १७ बेड खाली रहेका छन् । ६८ जनाको उपचार भइरहेकोमा २४ जना सिकिस्त रहेका छन् । बेड खाली हुने अवस्था आएपछि भेरी अस्पतालले ओपीडी सञ्चालन गर्ने तयारी गरेको हो ।
कोरोना संक्रमणदर घटेकाले अब बढ्ने लक्षण देखिदैन । आइतबारकै रिपोर्ट हेर्दा एक सय २४ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा बाँकेका दुई जना रहेका छन् । भेरीले ३९ जनाको परीक्षण गर्दा ९ जना, कोहलपुर मेडिकल कलेजमा ३९ जनाको परीक्षण गर्दा ५ जना बागेश्वरी ल्याबमा ४६ जनाको जाँच गर्दा तीन जनामा कोरोना पुष्टि भएको छ । आइतबार ६९ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !