खजुरामा बन्दै स्तरीय खेलकुद संरचना

नेपालगञ्ज – बाँकेको खजुरालाई खेलकुदको उर्वरभूमि मानिन्छ । जिल्लामा हुने जुनसुकै खेलको प्रतियोगितामा खजुरा क्षेत्रको बलियो उपस्थिति हुने गर्दछ ।
आठौं राष्ट्रिय खेलकुदका चार वटा खेल खजुराले भब्य रुपमा सम्पन्न गरेको थियो । शुक्र मावि खेलग्राममा महिला र पुरुषको भलिबल, महिलाको हक्की, डीगाउँको मिनि रंगशालामा पुरुष फुटबलको सेमिफाइनलसम्मका खेल र ज्ञानोदय नमूना स्कूलमा बक्सिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
आठौको प्रभाव अनि खेलकुदमा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीको लगावले गर्दा खजुरामा करोडौको खेलकुद संरचना बन्दैछन् ।
शुक्र माविको साढे चार विगाहमा खेलकुद ग्राम बनिरहेको छ । ५७ करोड ५६ लाखको यो प्रोजेक्टको वर्षेनी संरचनाहरु बनिरहेका छन् । अहिले त्यहाँ खेलकुद ग्रामलाई सुरक्षित राख्नका लागि माटो फिलिङ र पर्खालको काम भइरहेको छ । गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले शुक्र मावि खेलकुद ग्राममा २५ लाखको काम भइरहेको जानकारी दिनुभयो ।
खेलकुद ग्राममा भलिबल स्टेडियम, प्यारापिटसहितको फुटबल मैदान, पौडीपोखरी, बहुउद्देश्यीय सभाहल, जीम हलदेखि खेलाडी आवासीय भवन बन्ने स्थानीयवासी एवं क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वलीले बताउनुभयो । खेलकुद ग्राममा वर्षेनी एक करोड हाराहारीको काम भइरहेको वलीले बताउनुभयो । ‘यो हिसावले प्रोजेक्ट सकिन धेरै वर्ष लाग्न सक्छ, सरकारले वर्षेनी ४÷५ करोडको काम गर्नुपर्छ, गाउँपालिकाका राजनीतिक सल्लाहकारसमेत रहेका वलीले भन्नुभयो ।
खेलकुद ग्राममा बनेको फुटबल मैदानमा इशाका कप भइसकेको छ । धेरै खेलकुदका संरचना एकै ठाउँमा बन्दै गरेकाले भविष्यमा यो ठाउँ खेलकुद पर्यटकीय स्थल बन्ने जानकारहरु बताउँछन् ।
खजुरामा अर्को ठूलो खेलकुदको संरचना डीगाउँमा बनिरहेको छ । डीगाउँमा मिनि रंगशाला बनिरहेको हो ।
६ हजार बढी दर्शक अट्ने प्यारापिटसहितको मिनि रंगशालाका लागि यो वर्ष ४५ लाखको काम भइरहेको गाउँपालिकाका योजना अधिकृत पौडेलले बताउनुभयो । यही मिनि रंगशालामा आठौ राष्ट्रिय प्रतियोगिताको पुरुष फुटबलको सेमिफाइनलसम्मका खेल भएका थिए ।
खजुरा क्षेत्र फुटबलमा जिल्लामा अगाडि नै पर्छ । डीगाउँमा मिनि रंगशाला बन्दा फुटबल खेलाडी उत्पादनमा त्यसले अझ सहज हुनेछ । खेलप्रेम वडाध्यक्ष तिलकवीर सुनार छिटो भन्दा छिटो मिनि रंगशाला सम्पन्न गर्न लागि परेका छन् ।
खजुराले राष्ट्रिय÷अन्तर्राष्ट्रिय धेरै खेलाडी जन्माएको छ । खेलमा लागेको व्यक्तिको सबै भन्दा ठूलो इच्छा नै राष्ट्रिय जर्सी लगाउने हुन्छ । खजुराका धेरै खेलाडीले यो मौका पाएका छन् । देशको शीर उचो बनाउन उनीहरुले भूमिका खेलेका छन् । लालबहादुर मल्ल, मानबहादुर काउचा, केशमाया श्रीस, आइतराम वली, नेरी थापा, विनु बुढामगरदेखि सातौ र आठौमा गोल्ड मेडलिष्ट सोनु भट्टसम्मले खजुराको प्रतिनिधित्व गर्छन् ।
शुक्र मावि खेलकुद ग्राम र डीगाउँमा मिनि रंगशाला हुँदा खजुरा क्षेत्रबाट धेरै भन्दा धेरै खेलाडी उत्पादन हुने आशा गरिएको छ । त्यसो त खजुराका हरेक स्कूलमा खेल मैदान रहेका छन् । आठौं राष्ट्रिय प्रतियोगिताको बेलामा स्कूलका मैदानको स्तर उन्नति गर्न धेरथोर रकम लगानी गरिएको थियो । त्यतिबेला प्रशिक्षण स्थलका रुपमा राख्दै स्कूलका मैदानलाई एकदेखि १२ लाख रुपैयासम्म लगानी गरेर राम्रो बनाउने काम भएको थियो ।
खजुराको गौरीनगरमा क्रिकेट मैदान बनाउने थालिएको छ । यो वर्ष त्यहाँ तारबरका लागि दश लाख रुपैया परेको छ । यहाँ राम्रो क्रिकेट मैदान बन्दा पछिल्लो समयमा ठूलो क्रेज रहेको क्रिकेटमा पनि खजुराले राम्रो सहभागिता जनाउन सक्छ ।


error: यो सुविधा उपलब्ध छैन !