जानकीमा धेरै विद्यार्थी बीचमै गायब

नेपालगञ्ज – जानकी गाउँपालिकामा कक्षा एकमा एक हजार एक सय दश जना विद्यार्थी छन् । दश कक्षामा एक सय ३२ जना छन् । यहाँ हरेक वर्षको तथ्यांक यस्तै हुने गर्दछ ।
गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकले एक कक्षामा भर्ना हुने एघार प्रतिशत विद्यार्थी मात्रै दश कक्षामा पुग्ने गरेको देखाउँछ ।
त्यसो भए, बाँकी विद्यार्थी कहाँ हराए त ? सोझो उत्तर आउँछ, बिचैमा पढाई छोडे । अपवादमा केही अन्यत्र गएका हुन सक्छन् ।
पालिकामा २४ वटा सामुदायिक, १५ वटा मदरसा र ८ वटा संस्थागत विद्यालय छन् । सामुदायिक र मदरसामा ७ हजार ७ सय ६ जना विद्यार्थी छन् । शिक्षा अधिकृत प्रतिभा ओली खड्काका अनुसार, कक्षा एकमा एक हजार एक सय दश जना, दुई कक्षामा एक हजार ७४ जना, तीन कक्षामा ७ सय ७८ जना, चार कक्षामा ६ सय ८७, पाँच कक्षामा ६ सय ३४ जना, ६ कक्षामा तीन सय ८५, सात कक्षामा ३ सय ९१, आठ कक्षामा २ सय ६५, नौ कक्षामा २ सय ४३ र दश कक्षामा एक सय ३२ जना विद्यार्थी रहेका छन् ।
पालिकाको तथ्यांक हेर्दा माथिल्लो कक्षा उक्लिदा विद्यार्थी घटेको देखिन्छ । तीन कक्षा पुगेपछि नै विद्यार्थी ह्वात्तै घटेको तथ्यांकले देखाएको छ । त्यसपछि निरन्तर ओरालो लागेको छ ।
गाउँपालिकाका सहजकर्ता एवं स्थानीयवासी अयोध्याप्रसाद यादव भन्नुहुन्छ, ‘गरिवी, चेतनाको कमी, अभिभावक निरक्षर, बालविवाह, बालबालिकालाई काममा लगाउने हुनाले उनीहरु स्कूलको पहुँच भन्दा टाढा हुने गरेका छन् ।’
सहजकर्ता यादवका अनुसार, मधेसी र मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको जानकीमा छोरालाई निजी स्कूल र छोरीलाई सरकारी स्कूलमा तल्लो तहसम्ममात्रै पढाउने गरेको पाइन्छ ।
शिक्षा अधिकृत खड्काले पालिकामा ५÷६ कक्षा भन्दा माथि छोरीलाई नपढाएको पाएको बताउनुभयो । ‘बालबालिकालाई स्कूलमा भित्र्याउन र टिकाइराख्नका लागि चेतनामूलक कार्यक्रम लिएर घरघरमा जाने योजनामा छौं, शिक्षा अधिकृत खड्काले भन्नुभयो, यो अभियानमा सबैको साथ र सहयोग हुन जरुरी रहेको छ ।’
संघीय सरकारले विद्यालय बाहिर रहेकालाई भित्र्याउन र टिकाइ राख्नका लागि समता रणनैतिक योजना बनाएको छ । यो योजनाका लागि जानकीमा संघबाट एघार लाख ५१ हजार रुपैया आएको छ ।
पालिकामा साक्षरता अभियान चलाएर त्यहाँबाट केहीलाई माथिल्लो कक्षामा भर्ना गरिएको थियो । पालिकाले सबैलाई भर्ना गराउने र विद्यालयमा टिकाइ राख्नका लागि छात्रालाई साइकल बाँडेको छ । यही प्रयोजनका लागि संघले नै स्कूलहरुमा खाजाको व्यवस्था गरेको थियो । फाल्गुन १ गतेदेखि बैशाख २ गतेसम्म चलेको थियो । एकदेखि पाँच कक्षासम्मका लागि विद्यार्थी खाजाको व्यवस्था गरिदिंदा दैनिक उपस्थित हुनेको संख्या बढेको सहजकर्ता यादवले बताउनुभयो । ‘खाजा वितरण हुँदा ९० प्रतिशत विद्यार्थी उपस्थित हुन्थे, सहजकर्ता यादवले भन्नुभयो ।
पालिकाले विशेष गरेर बालिकालाई स्कूलमा प्रवेश गराउन र टिकाइ राख्नका लागि नयाँ योजना ल्याउनु पर्ने देखिन्छ । त्यस्ता योजनाहरु खाजा कार्यक्रम शैक्षिक सामाग्री, पोशाकदेखि अलि बढाएर छात्राबृत्ति हुन सक्छन् ।
पालिकामा यो वर्ष केही पूर्वाधारहरु बनेका छन्, बन्दैछन् । नेराप्रावि, मानपुर र नेवाजीगाउँको मदरसामा ७÷७ लाखको शौचालय बनेका छन् । जनसहयोग आधारभूत विद्यालय गिजरा र भृकुटी प्रावि बकौटियामा चार-चार कोठे भवन बनिरहेको छ । १२ वटा विद्यालयमा स्वच्छ खानेपानी फिल्टर जडान गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !