खजुरामा जताततै पिच

 

नेपालगञ्ज – खजुरामा यो वर्ष २० किलोमिटर बाटो कालो पत्रे (पिच) भएको छ । गाउँपालिकाका आधा दर्जन गाउँको बाटो पूरै पिच भइसकेको छ ।
वडा, पालिकादेखि प्रदेश, संघबाट पनि पूर्वाधारमै धेरै बजेट पर्ने भएपछि गाउँका बाटो पिच भइरहेका हुन् । स्थानीयको माग पनि धेरै बाटोमै रहने गर्दछ । घर अगाडि पिच बाटो हुँदा स्थानीयवासीले विकासको अनुभूति गर्ने गरेको पाइएको छ । स्थानीयको यस्तो धारणा खजुरामा मात्रै नभएर जहाँकही रहेको छ ।
गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले वडा नं. १ मा तीन किलोमिटर, २ नम्बरमा साढे तीन किलोमिटर, ३ नम्बरमा तीन किलोमिटर, ४ नम्बरमा दुई किलोमिटर, ५ नम्बरमा ढाई किलोमिटर, ६ नम्बरमा एक किलोमिटर, ७ नम्बरमा ढाई किलोमिटर र ८ नम्बरमा तीन किलोमिटर पिच भएको जानकारी दिनुभयो । ‘गत वर्षको केही काम सरेर आएको थियो । यो वर्ष धेरै काम भएको छ, योजना अधिकृत पौडेलले भन्नुभयो, पिचसँगै स्तर उन्नति पनि धेरै भएको छ । यो वर्ष ३० किलोमिटर बढी सडक स्तर उन्नति गरिएको छ ।’
खजुराको वीरपुर, चन्द्रनगर, बहादुरपुर, केगाउँ, बीगाउँका बाटो पुरै पिच भइसकेको छ । एगाउँको केही भागमात्रै बाँकी रहेको छ ।
यो वर्ष जलपोखरीदेखि तिर्था प्रावि जाने बाटो, मैटहवा स्कूलदेखि छोटीलाइन हुँदै बोर्डरसम्म, नेउलीडाडा गंगा सुनारको घरदेखि मानखोला जाने बाटो, खेलकुद ग्रामदेखि गौरीनगर चोकसम्म पिच भएको छ । सीगाउँमा ८४ नम्बरदेखि ९१ नम्बर प्लेट, एलगाउँमा एक नम्बरदेखि १६ नम्बर प्लट, एगाउँमा १० नम्बरदेखि २५ नम्बर प्लट, बीगाउँमा २१ देखि ४४ नम्बर, ९० देखि एक सय ५ नम्बर प्लट पिच भएको छ । समपुरकमा परेको इगाउँदेखि एफगाउँ जाने बाटोको डेढ किलोमिटर गाउँपालिकाले पिच गराउदै छ । वीपी प्रतिक्षालयदेखि उढरा गाउँ हुँदै बाबास्थान जाने बाटो, नुरी मस्जिददेखि करस्थान जाने बाटो, हाइवेदेखि रजनागाउँ, वीपी प्रतिक्षालयदेखि कलसन गाउँ, हाइवेदेखि गोदनाचोक हुँदै सोनवर्षा, चमकदारपुरदेखि हाइवे हुँदै बठुा जाने बाटो, सुनौलोटोलदेखि क्रान्तिपुर घिया जाने बाटो पिच भएको छ ।
पालिकाको धेरै बजेट पूर्वाधारमा खर्च गरेको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पालिका, प्रदेश र संघबाट बाटोमा धेरै रकम परेको बताउनुभयो । ‘पालिका, प्रदेश र संघबाट पनि बाटोमा बजेट परेको छ । गतवर्षका केही काम यो वर्ष भएको छ, गाउँपालिका अध्यक्ष कक्षपतिले भन्नुभयो, धेरै गाउँमा गल्ली–गल्ली पिच भइसकेको छ ।’
अध्यक्ष कक्षपतिले आफ्नो कार्यकालमा खजुरामा ८० किलोमिटर सडक पिच हुने बताउनुभयो । ‘मेरो पाँच वर्षे कार्यकाल सकिदा खजुरामा ८० किलोमिटर जति पिच हुन्छ, अध्यक्ष कक्षपतिले भन्नुभयो, बाँकी ३० किलोमिटर जति रहन्छ । त्यो आउने नेतृत्वले गर्छ ।’
खजुरामा निर्वाचन क्षेत्र विकास, प्रदेशको समपुरकबाट बाटो बनिरहेका छन् । वर्षौदेखि कच्ची बाटोमा हिड्न बाध्य भएका धेरै गाउँका स्थानीय घर आँगनमै पिच पुग्दा खुशी भएका छन् । विकास भएको महसुस गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !