कोरोना कहरकै बीच भारत फर्किदै नेपाली

नेपालगञ्ज – कोरोना कहरबीच पहाडी जिल्लाका नेपालीहरु भारत फर्किन थालेका छन् । कोरोना त्रासलाई बेवास्ता गर्दै मौसम कामका लागि उनीहरु भारत फर्किन थालेका हुन् । कोरोना भन्दा पनि छाक टार्ने समस्याले गर्दा उनीहरु पुनः भारत जान हिडेका छन् ।
उनीहरु भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । भारतमा महामारी अलिकति कम हुने बित्तिकै फेरि उतै लागेका छन् ।
जमुनाहामा प्रहरी ब्यारेल कट्न उनीहरु तछाडमछाड गर्दै थिए । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले इन्ट्री गर्दै पठाइरहेको थियो ।
कर्णाली प्रदेशको दैलेख, जाजरकोट, रोल्पा, स्कुम, सल्यानका बढी मानिस भारतमा मौसमी कामका लागि जाने गर्दछन् । यी नेपालीहरु भारतमा महामारी फैलिएपछि र बर्खा लगाउने हिसावले फर्केका थिए । पहाडमा जेठमै मकै छर्ने र धान रोप्ने काम सक्ने भएकाले उनीहरु फेरि मौसमी कामका लागि भारत जान हिडेका हुन् । अहिले गएका नेपाली दशैं र तिहारमा फर्किने गर्दछन् ।
सरकारले पूर्णरुपमा नाका खोलिसकेको छैन । भारतबाट फर्किएकालाई स्वास्थ्य जाँच गरेर भित्र्याउने र भारतीय तथा लामो समयदेखि भारतमा बसेका नेपालीलाई यताबाट जान दिने गरिएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दुई दिनयता भारत जाने नेपालीको संख्यामा बृद्धि भएको जानकारी दिनुभयो । ‘अहिलेसम्म भारतबाट फर्किनेको संख्या धेरै थियो, दुई दिनयता भारत जाने बढ्दै छन्, गिरीले भन्नुभयो, भारतमा कोरोना महामारी कम भएपछि फेरि नेपाली फर्किन थालेका छन् ।’ नेपालगञ्ज नाकाबाट अचेल दैनिक ५ देखि सात सयसम्म नेपाली घर फर्किरहेका छन् । दुई दिनयता ३÷४ सय नेपाली भारततिर जान थालेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !