वडाध्यक्ष शाहको शिक्षामा ‘फोकस’

नेपालगञ्ज – नेपालगञ्जको वडा नं. १३ मा रहेको अरुण आधारभूत निमावि, लालापूर्वामा ४ सय ११ जना विद्यार्थी छन् । दैनिक उपस्थिति भने धेरै कम हुन्छन् ।
७० प्रतिशत दलित समुदायको बच्चा पढिरहेको यो स्कूलमा विचैमा विद्यालय छोड्ने (ड्रप आउट) धेरै रहेका छन् । विद्यालय प्रधानाध्यापक राजेन्द्रप्रसाद पाण्डे २५ प्रतिशतसम्म ड्रप आउट हुने गरेको बताउनुहुन्छ ।
एकदेखि सात कक्षासम्म सञ्चालनमा रहेको स्कूलको ‘क्याचमेन्ट एरिया’ पाँच वटा गाउँ छन् । लालापूर्वासँगै लोनियनपुरुवा, लोधईगाउँ, खट्टनपुरुवा, प्रसनपुरुवाका विद्यार्थी यहाँ पढ्न आउँछन् । निरक्षर अभिभावकको संख्या धेरै रहेकाले बच्चाहरु पनि नियमित स्कूलमा आएको पाइदैन । प्रधानाध्यापक पाण्डे भन्नुहुन्छ, ‘भर्नामा अभियानमा नाम लेखाउँछन् । बीचमा गायव हुन्छन् । अर्को वर्ष फेरि तिनै नाम लेखाउन आउँछन् ।’
यी बस्तीमा ५० प्रतिशत अभिभावक निरक्षर रहेको प्रधानाध्यापक पाण्डेको भनाई छ । अभिभावकले बच्चालाई स्कूल पठाउनु भन्दा तत्कालको काम नै ठूलो देख्छन् । घरमा काम परेको बेला बच्चा स्कूल आउँदैनन् ।
यो स्कूलमा सात जना स्थायी र तीन जना राहतका शिक्षक छन् । स्कूल आसपासमा ६ वटा बाल विकास केन्द्र चलिरहेको छ । साना विद्यार्थी त्यहाँ पढ्ने र ६ वर्ष पुगेपछि स्कूलमा भर्ना हुन आउने गर्दछन् ।
वडा नं. १३ मा अर्को एउटा स्कूल छ, नेराप्रावि सूर्यपुर । प्रधानाध्यापक शशिनाथ भट्टराईका अनुसार, एक सय ५० जना विद्यार्थी छन् । दैनिक उपस्थिति पूरै छैन । ड्रपआउटको समस्या यहाँ पनि रहेको छ । यो स्कूलमा शिशु कक्षा पनि सञ्चालनमा रहेको छ । चार जना दरबन्दी र एकजना बाल विकास शिक्षक रहेका छन् ।
वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले वडाका यी दुई स्कूललाई बजेटमा फोकस गर्नु भएको छ । पढाई सुधार्न उहाँ आक्रमक तरिकाले लाग्नु भएको छ । वडाले वर्षेनी नियमित स्कूल आउने, प्रथम, द्वितिय, तृतिय हुनेलाई पुरस्कृत गर्दै आएको छ । सधैं स्कूल जादा नै पुरस्कार पाइन्छ भन्ने बच्चा र अभिभावकमा राम्रो प्रभाव पार्न वडाले यो रणनीति अपनाएको छ । प्रथम, द्वितिय, तृतिय हुनेलाई शैक्षिक सामाग्री नै पुरस्कारको रुपमा दिने गरेको छ । अरुण आधारभूत निमाविका प्रधानाध्यापक पाण्डेले वडाध्यक्ष शाहले पुरस्कृत गर्न थालेपछि विद्यार्थी र अभिभावकमा राम्रो प्रभाव परेको बताउनुभयो । वडाले विद्यार्थीलाई स्कूलमा आकर्षित गर्न खेलकुद सामाग्री दिने गरेको छ ।


स्कूलमा बाउन्ड्री नभएकाले विद्यार्थी निस्केर हिड्ने गरे भनेपछि वडा कार्यालयले अरुणमा १३ लाख रुपैया खर्च गरेर बाउन्ड्री निर्माण गरेको छ । त्यसमा गेट निर्माण गर्न थप एक लाख रुपैया छुट्याइदिएको छ । दुवै स्कूलमा बत्ती जोडेर त्यसको महसुल वडाले तिर्ने गरेको छ । चालु आर्थिक वर्षमा ४० हजार रुपैया त्यसमा खर्च भएको छ । वडाले लोनियनपूर्वाको बाल विकास भवन मर्मत, बालबालिका भ्रमण, बुलबुलिया मदरसालाई फर्निचर खरिद, बाल विकास केन्द्रलाई सामाग्री वितरण, बाल संरक्षक समिति बुलबुलियालाई तलव र भाडाको व्यवस्था गरेको छ । बाल विकास सम्बन्धी सडक नाटक, बाल राहत कोषमा सहयोग, बाल विकास केन्द्रलाई सामाग्री वितरण, बुलबुलियामा मदर्सा रंगरोगन र फर्स ढलान, नेत्रहीन संघको भवभ मर्मत, शैक्षिक सामाग्री वितरण गरेको छ ।
वडाले बालबालिकालाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थासँगै विद्यालय राम्रो बनाउनु ठूलो बजेट दिइरहदा पनि ड्रपआउटको समस्या देखिनुलाई चुनौतीको रुपमा लिइएको छ । वडाध्यक्ष शाहले यसका लागि शिक्षक र अभिभावक पनि लाग्नु पर्ने बताउनुभयो । ‘हामीले बजेटको व्यवस्था गरिदिएका छौं । अझै के गर्नु पर्छ गर्छौ, विद्यार्थी स्कूलमा टिक्दैन भने शिक्षकले पनि मेहनत गर्नु पर्छ । व्यवस्थापन समितिमा रहेकाहरुले बढी ध्यान दिनुपर्छ, वडाध्यक्ष शाहले भन्नुभयो, ‘एक-दुई दिन बच्चा नआउने बित्तिकै उसको अभिभावकसँग सम्पर्क गरेर किन आएन भनेर खोजी गर्ने परिपाटीको विकास गर्नुपर्छ ।’
स्कूलमा बच्चा टिकाउनका लागि दिवा खाजाको व्यवस्था गरिदैछ । योसँगै स्कूल पोशाकको व्यवस्था गर्नुपर्छ । छात्राबृत्ति, दिवा खाजा, पोशाक, किताव, कापीसमेत दिंदा पनि स्कूल नपठाउने अभिभावकको स्थानीय तहले सेवा रोकेर कडाई गर्न आवश्यक रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !