कक्षा २ पढ्ने छात्राद्वारा ‘खुतुर्के’बाट नगद सहयोग

नेपालगञ्ज – सोफिया रेसिडेन्सियल इंग्लिस स्कूल कक्षा २ मा अध्ययनरत छात्रा कृपान्स खड्काले भेरी अस्पताल हाता भित्र सञ्चालनमा रहेको अञ्जनी माता रसोईलाई नगद सहयोग प्रदान गरेकी छन् ।
कक्षा २ मा अध्ययनरत कारकाँदौ बस्ने ६ बर्षीया कृपान्सले अभिभावकले सामाजिक सञ्जालमा अप्ठ्यारोमा परेकाहरुलाई खाना समस्याका विषयमा सहयोग भइरहेको कुरा सुनेकी थिइन् ।
कृपान्सले बिहीबार आफूले खुतुर्केमा जम्मा गरेको रकम ५ हजार १ सय ७० रुपैया अप्ठ्यारोमा परेकालाई खाना खान सहयोग होस् भनेर प्रदान गरिन । उनले अभिभावकमार्फत सहयोग रकम हस्तान्तरण गरेकी छन् ।
कोभिड–१९का कारण अनलाइन कक्षामा बसिरहेकी कृपान्स अनलाइनबाटै घरमा र आफन्तजनले सामाजिक सञ्जालमा अस्पतालका कुरा गरेको सुनेकी हुन् ।
कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराउन पुगेका संक्रमित तथा विरामी कुरुवालाई खाना सहज होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको भान्छा घरले प्रति छाक २० रुपैयामा खाना उपलब्ध गराइरहेको छ ।
नेपालगञ्जको भेरी अस्पताल परिसरभित्र सञ्चालन भइरहेको सुपथ मूल्यको खाना सेवाबाट प्रत्येक दिन करिब ७ सय जनाले सेवा लिइरहेको प्रवक्ता विमल चन्दले जानकारी दिएका छन् ।
निषेधाज्ञा र यातायात सञ्चालन नहुँदा विरामी र विरामीका कुरुवासँगै आफन्तजनलाई खाना खान समस्या भएको महसुस गरी यो सेवा शुरु गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !