जनता बचाउन १३ नम्बरको आफ्नै अभियान

नेपालगञ्ज – ‘जनतालाई बाँचेनन् भने राम्रो बाटो बनाएर के गर्नु ? त्यसमा हिड्ने मान्छे त चाहियो ।’ जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले पटक–पटक भन्ने गरेको वाक्य हो, यो । श्रीवास्तवको भनाई यो हो कि कोरोना महामारीमा पहिला जनता बचाऔं, त्यसपछि विकास निर्माणका काम गर्दै गरौला ।
श्रीवास्तवले धेरै भन्ने गरेपनि जनता बचाउने अभियानमा सबैजसो जनप्रतिनिधि लागेको पाइन्छ । त्यसमध्येमा पनि कतिपय जनप्रतिनिधिले फरक अभियान थालेर ‘वाहीवाही’ कमाएका छन् । त्यसमध्येका हुन्, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाह ।
वडाध्यक्ष शाह कोरोनाका गम्भीर विरामी भएका ठाउँमा डाक्टर लिएर आफै पुग्नु भयो । डाक्टर लिएर वडाध्यक्ष घरमै आएपछि वडावासी खुशी भए । भोट माग्ने बेलामात्रै होइन, जनतालाई संकट गरेको बेलामा पनि वडाध्यक्ष घरमै आइपुग्छन् भन्ने शाहले देखाउनु भयो ।
वडामा संक्रमितको अवस्था बुझ्ने, औषधी किट दिने, गम्भीर भएकाको घरमा डाक्टर लिएर जाने व्यवस्था मिलाइएको छ । त्यसका लागि हेल्थ असिस्टेन्ट राजवीर बर्णवाललाई फोकलपर्सन तोकिएको छ । उदययपुर स्वास्थ्य चौकीका तीन जना अहेवलाई रात दिन खटाइएको छ । वडाको सहयोगमा स्वास्थ्यकर्मीले वडामा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका सबैजसोका घरमा औषधी किट पु¥याएका छन् । ६ सय रुपैया बढीको औषधीसहितको सामान रहेको किट सबैजसो विरामीको घरमा पुगिसकेको छ ।
फोकलपर्सन बर्णवाल भन्नुहुन्छ, ‘कोरोना जाँच भएपछि अस्पतालहरुबाट पोजिटिभ भएको रिपोर्ट आएपछि हामी विरामीलाई फोन गर्छौ । स्वास्थ्य किट बोकेर उसको घरमा गएर अवस्था बुझ्छौं । गम्भीर विरामी छ भने डाक्टर लिएर जान्छौं ।’
वडामा पम्प्लेट पनि बाँडिएको छ । त्यसमा अपनाउनु पर्ने कुरादेखि समस्या पर्दा सम्पर्क गर्ने नम्बरहरु दिइएको छ । वडाले निशुल्क एम्बुलेन्स सेवा दिएको छ । एक्सरे गर्नुपर्ने विरामीको आफैले खर्च व्यहोरेको छ । अक्सिजन चाहिने विरामीलाई ठाउँमा पु¥याएको छ ।
वडा नं. १३ मा २ सय ८० जना कोरोना संक्रमित भएका छन् । दुई जनाको मृत्यु भएको छ । वडा कार्यालयले यो महामारीको नियन्त्रण र रोकथामका लागि नौ लाख रुपैया छुट्याएको वडाध्यक्ष शाहले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वडालाई दश लाखसम्म खर्च गर्न अनुमति दिएको छ । उहाँका अनुसार, विरामीलाई औषधी, एम्बुलेन्स सेवा, एक्सरेदेखि चौविसै घण्टा खटिएका स्वास्थ्यकर्मीलाई केही सुविधाको व्यवस्था गरिएको छ ।


होम आइसोलेसनमा बसेका तीन जना गम्भीर विरामीको घरमा डाक्टरसहित वडा र स्वास्थ्य संस्थाको टीम पुगेको थियो । डाक्टर पारस श्रेष्ठलाई लिएर वडाध्यक्ष शाह, वडा सदस्यहरु सत्यनारायण यादव, ओमप्रकाश चौहान, पुष्पा भट्टराई, निर्मला धोवी, वडा सचिव मदनबहादुर रावत, नासु रामकुमार पौडेल, उदयपुर स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर केसी, अहेवहरु हेमराज पाण्डे, हेमराज शर्मा, फोकलपर्सन बर्णवालको टीम विरामीको घरमा पुगेको थियो ।
कोरोनाको दोस्रो लहरमा नेपालगञ्ज फेरि हटस्पट बनेको थियो । विस्तारै संक्रमण दर घट्दै गइरहेको छ ।
कोरोनाको पहिलो लहरमा विरामी अस्पताल, आइसोलेसन सेन्टर र क्वारेन्टाइनमा पुगेका थिए । दोस्रो लहरमा धेरैजसो घरमै बसे । पहिलो लहरमा सचेतनाका कार्यक्रमसँगै राहत बाँडेका वडाहरुले दोस्रो लहरमा डाक्टर बोकेर घरघरमा पुगे । कोरोना संक्रमित भएर आफन्तीहरुसमेत भेट्न नआएको बेलामा डाक्टर बोकेर जनप्रतिनिधि घरदैलोमा पुग्दा बिरामीले ठूलो राहतको महसुस गरेको पाइएको छ । कतिपय विरामीले भेटमा त कतिले सामाजिक सञ्जालमा लेखेर हर्षबढाई गरेका छन् । कोरोनाले घरपरिवार नै संक्रमित भएर भित्रै कोचिएर बस्नु परेको बेलामा घरमै डाक्टर आएर जाँच गरेर औषधी दिनुका साथै आत्मबल बढाउने कुरा गर्दा खुशी नहुने को होला र ?


error: यो सुविधा उपलब्ध छैन !