अब मेडिकल कलेजमा कोभिड उपचार निशुल्क

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले कोभिड युनिटमा बेड संख्या बढाउदै उपचार निशुल्क गराएको छ ।
अस्पतालले एक सय १५ वटा बेड सञ्चालन गरिरहेको थियो । त्यसलाई बढाएर एक सय ३० बेड पु¥याएको छ । यसअघि ४५ बेडमा निशुल्क उपचार चलिरहेको थियो । शुक्रबारदेखि एक सय ३० बेडमै सरकारी प्रोटोकल अनुसार निशुल्क गरिएको छ ।
अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले सरकारी प्रोटोकल अनुसार एक सय ३० बेडमा निशुल्क उपचार थालिएको बताउनुभयो । उहाँका अनुसार, अब कोभिडका विरामीको उपचार निशुल्क हुन्छ ।
कोभिड हिरोको सम्मान पाएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले शिक्षण अस्पताल कोहलपुरमा कोभिडका विरामीलाई अक्सिजन, बेड र उपचार निशुल्क हुने बताउनुभयो । ‘कोहलपुरमा पनि बेड संख्या बढाएर निशुल्क उपचार थालिएको छ, कोभिडको व्यवस्थापनका लागि बर्दियाबाट तीन महिनाका लागि बाँकेमा सरुवा भएका जनस्वास्थ्य अधिकृत श्रेष्ठले भन्नुभयो, अब भेरी अस्पतालको लोड कम हुन्छ । सरकारी अस्पतालमा निशुल्क उपचार हुने भएकाले विरामीको चाप भेरीमा बढेको थियो ।’
बाँकेमा अझै कोरोना संक्रमितको मृत्युदर घटेको छैन । जिल्वावासीसँगै बाहिरीबाट उपचार गराउन आउनेको दैनिक दर्जन आसपासमा मृत्यु भइरहेको छ । पछिल्लो समयमा संक्रमण दर भने घटेको पाइएको छ । बाँकेमा पीसीआर जाँच गरेका ८० प्रतिशतलाई संक्रमण भइरहेकोमा अहिले ४३ प्रतिशतमा झरेको भेरी अस्पताल, प्रशासनले जानकारी दिएको छ । बर्दियामा भने संक्रमणदर अझ बढेको देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !