भेरीमा ठडियो लिक्विड अक्सिजन ट्यांक
नेपालगञ्ज – भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारको काम अघि बढेको छ । त्यसका लागि सोमबार लिक्विड अक्सिजन ट्यांक ठड्याइएको छ ।
केही दिनदेखि नै अस्पताल परिसरमै ट्यांक ल्याएर राखिएको थियो । ट्यांक जडानका लागि फाउन्डेसन तयार नै थियो । सरकारले भेरीलाई अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक र पाइप लाइन विस्तारका लागि १५ करोड रुपैया विनियोजन गरेपछि अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारको काम दु्रतगतिमा अघि बढेको हो ।
यो स्टोरेज ट्यांक हो । यसमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ । त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइप लाइनबाट बेड–बडमा सप्लाई गरिन्छ । भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले अक्सिजन प्लान्ट तयार भएर पाइप लाइनबाट बेडबेडसम्म अक्सिजन दिन सकेमा अक्सिजनको समस्या समाधान हुने बताउनुभयो । उहाँका अनुसार, सिलिण्डर भेरेर ल्याएको भन्दा यसबाट ढाईदेखि तीन गुणा सस्तो पर्न आउँछ । यो शुरु भएपछि अक्सिजनको माग पूर्ति गर्न सहज हुन्छ ।
भेरीमा अहिले दैनिक चार सय थान सिलिण्डर खपत भइरहेको छ । तीन सय हाराहारीमा विरामी रहेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको समेत रिफरल सेन्टर भएकाले भेरीमा कोरोना संक्रमितको चाप रहेको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले हप्ता-दश दिनमा लिक्विड अक्सिजन ट्यांकबाट अस्पतालको सेन्ट्रल लाइनमा पाइप जडान गरेर बेडबेडमा अक्सिजन सप्लाई गरिने र सिलिण्डरलाई ब्यापकमा राखिने बताउनुभयो ।
भेरीका लागि भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन मगाइसकिएको छ । कोरोना कहरका बीचमा जमसेदपुरबाट कोहलपुर मेडिकल कलेजमा दुई ट्यांकर लिक्विड अक्सिजन आइसकेको छ ।