एक वर्षमा भन्दा बैशाखमै धेरैको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाले एक वर्षदेखि नै दुःख दिइरहेको छ । २०७७ साल बैशाख १९ गते पहिलो संक्रमित फेला परेको बाँकेमा जेठ ३ गतेबाट मृत्युको सिलसिला शुरु भएको थियो ।
२०७७ बैशाख १९ गतेदेखि चैत्र मसान्तसम्मको एक वर्षमा बाँकेमा चार हजार ९ सय ५८ जना संक्रमित भए । त्यसमा चार हजार ७ सय २ जना डिस्चार्ज भए । ५८ जनाको मृत्यु भयो । यो एक वर्षलाई २०७८ सालको बैशाख महिनाले मात्रै उछिनेको छ । बैशाखमा दोब्बर बढी संक्रमित भए, झण्डै तेब्बर संख्यामा मृत्यु भएको छ ।
बाँकेको यो तथ्यांकले दोस्रो लहरको कोरोना खतरनाक रहेको देखिन्छ । कोरोनाको हिसावले बाँके पहिलो वर्ष पनि हटस्पट बनेको थियो । यो बैशाख महिनामा पनि बन्यो । संक्रमित र मृत्यु संख्यालाई हेर्दा एक वर्षलाई एक महिनाले धेरै पछाडी पारेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बैशाख महिनामा दश हजार एक सय १४ जना संक्रमित भए । ६ हजार चार सय ७० जना डिस्चार्ज भएका छन् । मृतकको संख्या एक सय ६७ पुगेको छ । बाँकेमा शुरुदेखि बैशाख मसान्तसम्ममा १५ हजार ७२ जना संक्रमित भएका छन् । एघार हजार एक सय ७२ जना डिस्चार्ज भएका छन् । २ सय २५ जनाको मृत्यु भएको छ ।
पहिलो लहरको कोरोना महामारीमा समयमै संक्रमितको सम्पर्कमा आएका÷रहेकाको सोधीखोजी गरिएको थियो । धेरै संक्रमित देखिएका टोललाई सील गर्ने काम भयो । मृतकलाई नेपाली सेनाले मात्रै व्यवस्थापन गरेको थियो । अस्पतालमा आफन्ती वा कुरुवाको भीड लागेको थिएन । सरकारले चाडै नै लकडाउन गरेको थियो ।
सावधानीका सवालमा दोस्रो चरणमा केही ढिलाई भएको पाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेको बैशाख ३ गतेको बैठकमै भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले तत्काल लकडाउन गर्न पटक–पटक आग्रह गरेका थिए । भर्खरै जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । बैशाख ९ गते आएर नेपालगञ्ज एरियालाई निषेधाज्ञा लगाउने काम भयो । यतिबेलासम्ममा ढिला भइसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । बैशाख १३ गतेदेखि हालसम्म स्थानीय प्रशासनले जिल्लाभरी नै निषेधाज्ञा लगाइरहेको छ ।
दोस्रो लहर शुरु भइसक्दा बाँकेमा मान्छेको मुभमेन्ट रोक्न, भारतबाट आएकालाई जाँच गरेर मात्रै घर पठाउने काममा ढिलाई, अस्पतालमा कुरुवा वा आफन्तको भीडभाड, जो भित्र र बाहिरी गरिरहे, आफन्तीबाट शव व्यवस्थापन र सबैभन्दा खतरनाक त पहिलो चरणको जस्तो सम्झिएर कोरोनालाई सामान्य रुपमा लिइदा बैशाखमा कोरोनाको आगो दन्किन पुगेको विश्लेषकहरु बताउँछन् ।
पहिलो वर्षजस्तो दोस्रो पनि नेपालगञ्ज कोरोनाका हटस्पट नै बन्यो । देशभरीकै ध्यान नेपालगञ्जमाथि प¥यो । यो वर्ष सबैभन्दा खोजीको विषय अक्सिजन प¥यो । अक्सिजनको समस्याको समाधान त अझै भइसकेको छैन । नेपालगञ्जमात्रै नभएर बाँके जिल्ला नै अझै जोखिममा अगाडि नै रहेको छ । अनावश्यक बाहिर ननिस्किने, निस्किन परे वा घर आसपासमा रहदा पनि स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक देखिएको छ । जिल्लामा ठूलो संख्या होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेकाहरुले चिकित्सकसँग परामर्श लिइरहने र अलिकति अप्ठेरो हुँदा अस्पताल आउने गर्न आवश्यक छ । होम आइसोलेसनमा रहेकाहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्दा मृत्युदर बढेको छ । कतिपयको होम आइसोलेसनमै मृत्यु भएको छ ।
पछिल्लो दिनमा ओम आइसोलेसनमा बसेकालाई वडाहरुले निगरानी बढाएका छन् । कतिपय वडाध्यक्षहरु चिकित्सक लिएर घरघरमा पुगेका छन् भने केहीले चिकित्सकको सम्पर्क नम्बर दिएर आवश्यक पर्दा सल्लाह लिन सकिने बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !