भारतबाट आएका आठ जनालाई कोरोना

नेपालगञ्ज – भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भएको छ ।
भारतका विभिन्न शहरबाट आएका दैलेख, बर्दिया, कञ्चनपुर र दाङका आठ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्ज नाकामा बिहीबार २५ जना शंकास्पदलाई जाँच गरिएको थियो । त्यसमा दैलेखका तीन जना, बर्दिया र कञ्चनपुरका २-२ जना र दाङका एक जनालाई कोरोना पुष्टि भएको हो । आठ जना कोरोना देखिएकोमध्येमा ६ जना गुजरात, राजिस्थान र गोवाबाट एक-एक जना आएका थिए ।
चैत्र ११ गतेपछि नेपालगञ्ज नाकामा हेल्थ डेस्क राखिएको छ । त्यसयता अहिलेसम्म ३५ जनालाई कोरोना पुष्टि भइसकेको छ । भारतबाट आउदा कोरोना पुष्टि भएका व्यक्तिलाई शुरुमा सम्बन्धित जिल्लामा पठाउने गरेपनि अहिले नेपालगञ्जमै राख्ने गरिएको छ ।
भारतको दिल्ली, मुम्बई, गुजरातमा कोरोनाको कहर बढेपछि त्यस क्षेत्रमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । नेपालगञ्ज नाकाबाट अहिले घर फर्किनेको संख्या बढेको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दैनिक ५ हजार आसपासमा नेपालीहरु घर फर्किरहेको बताउनुभयो ।
नेपालगञ्जमा एक हप्ते लकडाउन चलिरहेको छ । यहीबेलामा भारतबाट ठूलो संख्याका नेपाली नाकामा आइपुगेका छन् । स्थानीय प्रशासनले उनीहरुलाई गाडीको व्यवस्था गरेर सम्बन्धित जिल्लातर्फ पठाइरहेको छ ।
यसैबीच, पहिलो दिनको लकडाउन प्रभावकारी देखिएको छ । नेपालगञ्ज बजार बन्द रह्यो भने सडकमा मानिसको चहलपहल कम देखिएको छ । नेपालगञ्जमा दैनिक दुई सय बढीलाई कोरोना देखिन थालेपछि स्थानीय प्रशासनले एक हप्ताका लागि लकडाउन गरेको छ । भेरी अस्पतालमा बिहीबारमात्रै २ सय ४ जना संक्रमित थपिएका छन् । नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी ल्याबको रिपोर्ट आइसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !