मुक्तिनाथको अद्भुत आनन्द

घुमफिर रमाइलो नै हुन्छ । घरायसी, व्यवसायिक, जागीरे माहोल वा पढाई अथवा खेती किसानी सबै काम छाडेर घुम्न निस्किदा मन र मस्तिष्कले छुट्टै अनुभूति गर्छ नै । यही चैत्र १९ देखि २४ गते यस्तै रमाइलो यात्राको अवसर मिल्यो, त्यो पनि समूहमा–बडा रमाइलो ।
हामी खजुरामा शैक्षिक क्षेत्रमा सक्रिय ब्याक्तित्वको ११ जनाको समूह मुक्तिनाथको यात्रामा निस्कियौ । पहिलो दिन बिहान ७ बजे खजुराबाट निस्किएको फोर्सको ट्राभलर गाडीले हामीलाई राती बास बस्न पोखरा पु¥यायो, प्रविधिले पु¥याएको सहजता खोजी गर्दै दुलेगौंडा नपुग्दै मैले मेरो मोबाइलको सर्च इन्जिनमा ‘होटल इन पोखरा’ टाइप गर्ने बित्तिकै थुप्रै होटलको लिस्ट देखियो । त्यसमध्ये पोखरा लेकसाइडमा रहेको होटल इगलमा सम्पर्क स्थापित गरि हामी आन्तरिक पर्यटक ११ जना र दुई जना गाडी स्टाफ सहित १३ जनालाई सैनकक्ष र खानाको ब्यवस्था गरियो, होटलका भाइले हामीलाई हल्लन चोकमा रिसिभ गरि होटल पु¥याएर सामान्य फ्रेस भएर हामीले रात्रीकालिन नजारासंगै केही सामान्य किनमेल समेत गरियो । नेपाल कै सुन्दर र पर्यटकीय नगरी पोखरामा घुम्दै गर्दा नेपालगञ्जका उनै जनप्रिय गायक स्वर्गीय प्रेमप्रकाश मल्लको गीत बिर्साउने थियो पोखरा –‘पोखरा त साच्चै को नै पोखरा पो रैछ ।’
भोलिपल्ट बिहानै हामी पोखराबाट मुस्ताङ तर्फको यात्रामा अगाडि बढ्यौ । पोखरा, हेम्जा हुँदै लुम्ले पुगेपछि हामीले लुम्लेमा खाजा ब्रेक गरियो । फेरि सिठ्ठी बज्नासाथ गाडी चढियो बाटोमा देखिएको रुप्से झरनाले गाडीलाई ब्रेक नलगाई सुखै दिएन । बडो सुन्दर छाङ्गो केहीबेरको फोटोसेसन, टिकटक र सेल्फीसंगै रुप्सेलाई छाडेर अगाडि बढियो । हाम्रो लन्च (दिवाखाना) मुस्ताङ्गको लेतेमा थियो । लेते पुग्नासाथ मुस्ताङ्गी चिसो हावाले हाम्रो स्वागत गर्यो । त्यसपछि हामी फेरि अगाडि निस्किएयौ र दोस्रो दिनको रात हामीले कागबेनीको होटल यतिमा बिताइयो । कागबेनी झर्नासाथ नै सामान्य महसुस गरियो ‘हाइअल्टिच्युट’ को त्यो साझ कागबेनीमा गितार र गितमा केहीबेर रमाइलो गरियो । त्यही बिचमा जीवन मै पहिलोपटक भोटेचिया (घ्यू चिया) को स्वाद पनि लिने अवसर मिल्यो । भोलिपल्ट बिहान कागबेनीमा ‘शालिग्राम’ खोजी र एकजना साथीले आफ्ना पितृका नाममा तर्पण दिएपछि हामी मुक्तिनाथ उक्लिएयौ र यात्राको तेस्रो दिनको बिहानी अलौकिक अतिनै धार्मिक महत्व बोकेको मुक्तिनाथ मन्दिर पुगियो । रानिपौवादेखि मुक्तिनाथ मन्दिर पुग्दासम्म लेकलाग्ने समस्या धेरै थोर सबैलाई भयो १०८ धारा र दुई वटा कुन्डको स्नान पछि मन्दिर दर्शन गरियो केहीबेर आराम गरि तल रानिपौवा झरेर हामीले खाजा खाएर फिर्ती यात्रा सुरु गरियो ।
लेतेबाट मुक्तिनाथ पुग्दासम्म देखिने मुस्ताङका ती दृश्य यति अलौकिक र अनुपम देखिए न स्पर्श गर्न सकिने न त वर्ण नै । मनमुटुभरिको जिवनकालकै एउटा अनौठो, अपत्यारिलो र सानदार र आनन्दित अनुभूति बटुलेर हामी यात्राको ५ औं दिन दिन घर फर्किएयौ ।
– सेल्फी पार्क
मुक्तिनाथ मन्दिरबाट केही तलझरे पछि मिठो हावा चल्ने एउटा सुन्दर ठाउँमा सेल्फी पार्क बनाइएको रहेछ, जहाँ हर्ष राइडिङ्गको समेत ब्यबस्था थियो । घोडा दौडाएर होस् वा मरुभूमिको हिमालमा फोटाहरु अब सेल्फी खिच्नकै लागी पार्क बनाइदिए पछि दुई÷चार सेल्फी त खिच्नै पर्यो सेर्थाङ्ग सेल्फी पार्कमा केही थान सेल्फी हानेर सेफ्ली झरियो जोमसोम ।
– जोमसोमे बजारमा
फर्किदा केहीबेर हामी जोमसोममा अडियौं । त्यहाँ मार्फा बेच्न बसेका जोमसिमे दिदिबहिनीले निकै तानातान नै गरे । एउटाकोमा किन्दा अर्को रिसाउने मात्र होइन, हाम्रो केही साथीहरूसँग त आफुसँग किनमेल नगरेका कारण अलि रुखोपारामा नै जवाफ दिएछन् ।
– तातोपानी स्नान
फर्किदै गर्दा घाँसे कटेपछि गाडीको जाम लाग्यो सिंगल गाडी हिड्ने बाटोमा अटिनअटि गाडी नै गाडी थिए कारण बुझ्दै जादा बाटो बनाउने क्रममा नै रहेकोले केही घन्टा बाटो बन्द गरिएको रहेछ । तर त्यही बिच यतिधेरै गाडी जम्मा भएकी जाम खुलाउनै मुस्किल ६ घण्टाको जाम पार गरेर राती म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको एउटा होटलमा बसियो । त्यो रात १२ बजे खाना खाएर सुतियो त्यहाँबाट ५ मिनेट अगाडि तातोपानी कुन्ड थियो । प्राकृतिक रूपमा आएको तातोपानीको स्नानले स्वास्थ्यमा सकारात्मक असर गर्ला भन्ने बिश्वास सहित झन्डै आधा घण्टा बढी तातोपानीमा डुबेर निस्कियौ ।
– मायाटारिको माया
स्याङ्जाको मायाटारीको सडक किनारमा एउटा झुप्रो अगाडि मकै पोलेर बसिरहेकी थिइन्, साउनी । हामी त्यहाँ अडियौ, मकै खाइयो, सुन्तला र काक्रो खाइयो अन्तिममा चिया नखाइ जानै दिइनन् उनले साह्रै मिजासिली प्रेमिल व्यबहार उनले झन्डै हजार बाह्रसयको चिया, मकै, काक्रो, सुन्तला बेचेरै छाडिन् हाम्लाइ ।
– बेनीको बजार
बेनीको बजार जतामाया उतै छ नजर भन्ने कर्णप्रिय सदाबहार गीतमा सुनिएको थियो । बेनी यसपटकको यात्राले बेनीलाई नजिकैबाट हेरियो पनि । गीतमा भनेजस्तो बेनिबजारमा नजर त लाइएन हामी कफी पिएर छाडियो बेनी ।
– बाग्लुङ बजारमा बाघको शालिक
अहिले एउटा लोक गित अति नै चर्चामा छ, बागलुङ बजारमा बाघको शालिक लगन जुराइदेउ बाग्लुङ कालिका, हामी बाग्लुङको प्रसिद्ध शक्तिपिठ बाग्लुङ कालिका भगवतीको दर्शन गरि बाघचोक हुँदै एकफन्को बाग्लुङ बजार घुमेर खाना त्यही खाइयो । हाम्रो यात्रा भरिको सबैभन्दा मिठो खाना हामीले बाग्लुङ मै खायौ । कोइरालोको अचारसँग आएको खानाले सबै हामी मिठो खाना खाएर उचाईमा रहेको एक स्पानको नेपाल कै सबैभन्दा लामो झुलुङ्गे पुल पुगियो । बाग्लुङ बाङ्गेचौर अदुवाबारिको यो पुल एउटा महत्वपूर्ण पर्यटकीय स्थल रहेछ ५६७ मिटर लामो र १३१ मिटर को उचाईमा रहेको पुलले ६ सय जनाको भार बहन क्षमता थियो, सेल्फी खिच्ने र टिकटक बनाउन मस्त थिए स्वदेशी पर्यटकहरू ।


error: यो सुविधा उपलब्ध छैन !