गण्डकी हारेपछि सुदूरपश्चिम एक खेल अगावै च्याम्पियन

नेपालगञ्ज – २ नम्बर प्रदेशको मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई २–१ ले पराजित गरेको छ । अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमति प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ ।
सैनिकको जितमा जीवन गुरुङले ३६ औं मिनेट र सुरजसिंह ठकुरीले ९३ औं मिनेटमा गोल गरेका थिए । खेलमा सैनिकका राजेश परियार म्यान अफ द म्याच घोषित भए । उनलाई नुवाकोट फुटबल संघका महासचिव विष्णुप्रसाद चालिसेले पुरस्कृत गरे ।
मनकामनाले खेल जितपछि एक खेल अगावै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ ।
शुक्रबार मनकामनाको जितमा भुवन बस्नेतले सुरुआतको नबौं मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाएका थिए । त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए । भुवन खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बागमति प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष दिपक चित्रकारले पुरस्कृत गरे ।
यसैगरी त्रिवेणीका लागि अविशेख लिम्बुले २९आंै मिनेटमा गोल गरे । ५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा उसलाई केही असर गर्दैन । त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको धम्बोझी क्लब र कर्णालीको लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।


error: यो सुविधा उपलब्ध छैन !