‘मान्छे खाने’ बाघ खोरबाटै भाग्यो

नेपालगञ्ज – बर्दियामा मान्छेलाई आक्रमण गरेपछि समातेर बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर राखिएको बाघ विहान भागेको छ ।
खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको बाघ विहान ५ बजेतिर भागेको हो । खोरबाटै बाघ भागेपछि निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र अगैया प्रहरीले गाउँलेहरुलाई जंगलभित्र नजान सूचित गरेको छ । पूर्वपश्चिम राजमार्गको शिव खोला आसपासमा मोटरसाइकल चलाउन रोकिएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका सहायक वार्डेन महेश न्यौपानेले थुनेर राखेको बाघ भागेको जानकारी आएको बताउनुभयो । ‘हामीहरु सबै विहानैदेखि कार्यक्रममा छौं । खैरीमा थुनेर राखेको बाघ भाग्यो भन्ने सूचना पाएका छौं, सहायक वार्डेन न्यौपानेले भन्नुभयो ।
मान्छे खान पल्केको बाघ खोरबाटै भागेपछि जंगल छेउछाउका बासिन्दालाई सचेत गराइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बाघको खोजी गरिरहेको छ ।
सहायक वार्डेन न्यौपानेका अनुसार, गत बिहीबार बाघलाई बाँकेमा ल्याएको थियो । बर्दियामा पटक–पटक मान्छेलाई आक्रमण भएपछि बाघलाई समातेर बाँकेमा ल्याइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !