बुहारी जलाउने ससुरा पक्राउ

नेपालगञ्ज – सात वर्षअघि बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) पक्राउ परेका छन् ।
दाइजोमा मोटरसाइकल नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँले रिहानालाई मट्टितेल छर्केर आगो लगाएका थिए । २०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान फरिद र सासु सजहाद अझै फरार रहेका छन् ।
घरपरिवारले आगो लगाएपछि गम्भीर घाइते भएकी रिहानाको लामो समयसम्म काठमाडौंमा उपचार भएको थियो । उनी बाँच्न सफल भइन् ।
नरैनापुर गाउँपालिकाको वडा नं. १, सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि पुगेको प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा गएको टोलीले हनिफलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी दिएको छ ।
घटनापछि हनिफका परिवार नै भारतमा गएर बसेका थिए । नेपाल प्रहरीले पटक–पटक प्रयास गर्दा पनि भारतीय प्रहरीले सहयोग नगर्दा ढपाली परिवारलाई पक्राउ गर्न सकिएको थिएन ।
बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान थालेर भारतीय प्रहरीसँग समन्वय बढाएपछि भारतमा लुकेर बसेका अभियुक्तहरु पक्राउ परिरहेका छन् । फरार अभियुक्त पक्राउ गर्नेमा बाँके प्रहरी प्रदेशमै अगाडि देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !