लुम्बिनीको जीतमा निशानको ह्याट्रिक

नेपालगञ्ज – निशान लिम्बुको ह्याट्रिकसँगै लुम्बिनी प्रदेशले दोस्रो जीत निकालेको छ । अर्को खेलमा गण्डकी प्रदेशले बागमति प्रदेशलाई पराजित गरेको छ ।
नेपालगञ्ज रंगशालामा चलिरहेको एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा लुम्बिनी च्याम्पियन बाँकेको धम्बोझी क्लवले प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लव, रौतहटलाई ३–० गोलले पराजित गरेको हो ।
लुम्बिनीको जीतमा निशान लिम्बु नायक भए । लिम्बुले ९, ३६ र ८८ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दा टीमलाई तीन अंक दिलाए । लगातार दुई खेल जित्नेमा लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएको छ ।
लुम्बिनी र २ नम्बर प्रदेशको खेलमा लुम्बिनीका निशान लिम्बु म्यान अफ द म्याच भएका छन् । प्रदेश नम्बर २ लगातार दुई खेलमा पराजित भएको छ ।
अर्को खेलमा गण्डकीले बागमतिलाई ३–२ गोलले पराजित गरेको छ । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा तीन अंक जोडेको छ । पहिलो खेलमा कर्णालीलाई ९–१ गोलले विजयी भएको बागमति दोस्रो खेलमा पराजित हुन पुगेको छ ।
गण्डकी र बागमतिको खेलमा शुरुवाती अग्रता बागमतिले लिएको थियो । ३७ मिनेटमा पाएको पेनाल्टीलाई बागमतिका अमिर श्रेष्ठले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक रहेको खेलको ४३ औं मिनेटमा गण्डकीका विश्वास श्रेष्ठले गोल गरेर टीमलाई बराबरीमा ल्याएका थिए । ७८ मिनेटमा गण्डकीका जय गुरुङले गोल गरेर टीमलाई अग्रता दिलाए । गण्डकीले ८८ मिनेटमा पेनाल्टी पायो । त्यसलाई कमल श्रेष्ठले गोलमा परिणत गरे । खेलको ९५ मिनेटमा बागमतिका मिक्चेन तामाङले गोल गरे । त्यसपछि गोल हुन सकेन ।
खेलमा बागमतिका मिक्चेन तामाङ म्यान अफ द म्याच भए ।


error: यो सुविधा उपलब्ध छैन !