एन्फा प्रेसिडेन्ट लिग : लुम्बिनी र बागमति विजयी

नेपालगञ्ज – नेपालगञ्ज रंगशालामा भइरहेको एन्फा प्रेसिडेन्ट लिगमा मंगलबार लुम्बिनी प्रदेश च्याम्पियन बाँकेको धम्बोझी युवा क्लव र बागमति प्रदेश लिग च्याम्पियन धादिङ समाज विजयी भएका छन् ।
एकतर्फी भएको पहिलो खेलमा धादिङ समाजले कर्णाली प्रदेश लिग च्याम्पियन लेकाली युवा क्लव जुम्लालाई ९–१ गोलले पराजित गरेको छ । खेलमा धादिङका दुई जना खेलाडीले ह्याट्रिक गरेका छन् ।
अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । धादिङका शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए ।
अर्को खेलमा लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लबले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० गोलले पराजित गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा धम्बोझीका पूर्णबहादुर गुरुङले ४२ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । गुरुङ म्यान अफ द म्याचसमेत भए ।
एन्फा प्रेसिडेन्ट लिग ७ वटा प्रदेश लिग च्याम्पियनले प्रतिस्पर्धा गरिरहेका छन् ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमति प्रदेशबाट धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्ला र सुदूर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैया र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन् ।


error: यो सुविधा उपलब्ध छैन !