प्रदेश सांसद र मेयर मैदानमा…
नेपालगञ्ज – एकातिर प्रदेश सांसद सुरेन्द्र हमाल, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा र वडाध्यक्षहरु थिए । अर्कोतिर एपसी नरेन्द्र गिरीको टीम ।
यी दुई टीमले फुटबललाई जाली चुमाउन बडो मेहनत गरे । लामो समयपछि फुटबल खेलेकाले होला, प्रदेश सांसद हमाल, मेयर राणाका खुट्टामा बल रोकिएको थिएन । पास आएको बललाई जसोतसो हान्ने प्रयास गरेका थिए ।
जुमा स्पोर्टस क्लवले जुराई दिएको जनप्रतिनिधि र निजामतिको मैत्रीपूर्ण फुटबलमा बाजी त निजामतिले मा¥यो । निजामतिका रतन बुढाले ह्याट्रिक गरे । बुढाले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे ।
पहिलो हाफमा खासै चान्स नपाएको जनप्रतिनिधिले दोस्रो हाफमा गोल गर्ने केही मौका पाएको थियो । त्यसको सदुपयोग हुन सकेन ।
उमेर छदा नै फुटबल खेलेपनि उमेर ढल्किदै गएपछि बल टाढा हुँदै जान्छ । भारोत्तोलनका ओलम्पियन हमालले बल अगाडि आउदा त्यो बलवानको बल देखाउन खोजेपनि भेटाउन अलि गाह्रो परिरहेको थियो । नेपालगञ्जका मेयर राणा त पुरै अवधि मैदानमा रहे ।
वडाध्यक्षहरु वीरेन्द्र शाह, समिर सिंह, तिलक सुनार, सुरेन्द्र बैश्य, जिसस सदस्य चेतबहादुर घर्तिलगायतले डटेर खेल्ने प्रयास गरे । वडा सदस्य तरुण बज्राचार्यले किपरमा राम्रो प्रदर्शन गरे ।
राजनीतिक रुपमा एक अर्काका प्रतिस्पर्धीजस्तै रहने प्रदेश सांसद, मेयर र वडाध्यक्षहरु फुटबल माहौलमा एक देखिन्थे । आफ्नो टीमलाई जिताउन मरिहत्ते गरिरहेका थिए । सफल हुन सकेनन् ।