राष्ट्रिय चरित्रको दोष !
संस्कृति अनुसार नै फरक–फरक ब्यक्तित्वको निर्माण हुन्छ ।
सुप्रसिद्ध मानव शास्त्री मार्गरेट मिडले ब्यक्तित्व माथि हुने संस्कृतिको प्रभावका बारेमा गहन अध्ययन र अनुसन्धान गरिन् । उनको एउटा पुस्तक The Sex and Temperament in three primitive society,1935 मा पपुवा न्युगिनिका ३ आदीवासी Mundugumor,Tchambuli/Arapesh जातिका समुदायको अध्ययनको निष्कर्षले ३ समुदायको प्रभुत्वमा भिन्नता थियो । कुनैमा महिलाको प्रभुत्व थियो त कुनैमा पुरुषको र एकमा लैङ्गिक समानताको गुण हावी थियो ।
अब कुरा राष्ट्रिय चरित्रको गरौं अर्थात National Character को । हामी नेपाली र नेपाल जुन भू–राजनीतिक अवस्थामा अवस्थित छौं, हाम्रो राष्ट्रिय चरित्रले यहाँको राज्य ब्यवस्थालाई अस्थिर बनाइरहेको छ । तर हामी अरुलाई दोषारोपण गर्दै आफू पानी माथिको ओभानो बन्न खोज्दछौं ।
मानिसको जुन खालको वातावरणमा परवरिस भएको छ, उसले त्यही संस्कृतिलाई निरन्तरता दिन्छ । तर राष्ट्रिय चरित्र मानिस मानिसमा विभेद हुनुहुँदैन भन्ने कुरामा टिकेको हुन्छ भन्ने कुरा हामी विर्सन्छौं । हो त्यही चरित्र एक पुस्ताबाट अर्को पुस्तामा हस्ताण्तरण हुँदै जान्छ । यो विश्व ब्यापी मान्यता नै हो ।
आज यति कुरा गर्नुको मूल आशय हामी जुन राजनीतिक अस्थिरताबाट गुज्रिरहेका छौं नि त्यसमाथिको स्वतन्त्र विश्लेषण गर्न खोजिएको मात्रै हो ।
आखिर किन हामी यो अवस्थाबाट पटक–पटक गुज्रिन्छौं त ?
किन भने हाम्रो राष्ट्रिय चरित्र नै यही खालको छ । इतिहांसलाई फर्केर हेरौं त कोत पर्व जंगबहादुरको उदय, भण्डारखाल पर्व, २२÷२४ राज्यको एकीकरण, पञ्चायती ब्यवस्था, प्राजतन्त्रको उदय, लोकतन्त्रको यात्रा जहाँ सबैले शक्ति आफ्नो हातमा लिन प्रयास गरेकै घट्ना हुन् । अब हाम्रो राष्ट्रिय चरित्र नै यही हो भनेर स्वीकारौं अनि बदलावका लागी आ–आफ्नो चरित्रमा सुधार ल्याउँदै नयाँ राष्ट्रिय चरित्र निर्माणमा नै आमूल परिवर्तन गरौं ।
एउटा सानो उदाहरण ः हामी भारतको खोईरो खनेर विरोध गर्छौं । तर हामीले भारतीयहरु उनीहरुको आन्तरिक विवाद जे जस्तो रहेपनि राष्ट्रिय चरित्रमा एकजुट भएका हुन्छन्, देखेका छौं नि यो त । हामी राष्ट्रिय मुद्दामा पनि विभक्त भइहाल्छौं ।
ब्रिटिस युरोपबाट अलग हुँदा जुन राष्ट्रिय चरित्र देखियो नि त्यो उनीहरुको संस्कृतिको ठूलो प्रभाव हो । उनीहरु आफै गर्न सक्छन् भन्ने कोणबाट ।
शुरुवातमा नै भनिएको छ नि ‘संस्कृति अनुसार नै फरक–फरक ब्यक्तित्वको निर्माण हुन्छ ।’ हो त्यही संस्कृतिको प्रभाव हो आजको राजनीतिक परिवेश ।
संसद भंग गर्नु नेपालको राष्ट्रिय चरित्र भइसक्यो । सबैका पालामा यही हुन्छ । अनि नागरिकलाई जनता बन्न बाध्य बनाइन्छ दलको झण्डा मुनि । यदि यही राष्ट्रिय चरित्र पछ्याउँदै जाने हो भने यहाँ ब्यवस्था परिवर्तनले देशको मुहार नबदिलिने पक्का हो ।
सुप्रसिद्ध मानव शास्त्री Margaret mead ले भने झैं मानिस कसरी संस्कृति सिक्छ, कसरी संस्कृतिमा बस्छ र त्यही संस्कृतिलाई निरन्तरता दिन्छ भन्ने कुरा त्यो देशको राष्ट्रिय संस्कृति बन्न जान्छ ।
हाम्रो राष्ट्रिय संस्कृति नै जनताप्रति उत्तरदायी शासन ब्यवस्थाकाविरुद्ध जनताबाटै स्वीकार्य शासकहरुले शक्ति सञ्चय गर्दै प्रहार गर्ने परिपाटीको निरन्तरता रहँदै आयो ।
शासकहरुले संविधान र कानुनलाई आफ्नो पक्षमा ब्याख्या गर्न र गराउन नै शक्ति सञ्चय गर्ने गर्दछन् । अदालतमा विचाराधिन संसद विघटनको विषयमा थप बोल्नु उचित हुँदैन । तर शक्ति पृथकिकरणको सिद्धान्तकाविरुद्ध बहालवाला प्रधान न्यायाधीश कार्यकारी प्रमुख भएर निर्वाचन भइसकेको नजिरलाई कसरी नजरअन्दाज गर्न सकिन्छ त !
विरोधीलाई दबाएर अघि बढ्ने उनको संस्कृति अनुसार नै केपी शर्मा ओली अहिले यो रुपमा छन् । पुष्प कमल दाहालको जुन संस्कृति छ नि विध्वंस गरेर नै नयाँ बनाउने भन्ने उनी त्यही संस्कृतिलाई नै पछ्याउँदै छन् । माधव नेपाल अप्ठ्यारोमा फलेको फर्सि झैं समस्याहरुबीच आफू फुत्त बन्न चाहने संस्कृतिको निरन्तरता हुन् । झलनाथले नौलो जनवादको संस्कृति छाड्न सक्दैनन् । कुरा यत्ति हो ।
अब नेपाली काँग्रेसको संस्कृतिमा आएको विचलनलाई उसले समयमै सम्बोधन गर्न नसकेकाले देशको लोकतन्त्र पटक–पटक अप्ठ्यारोमा परेकै छ । हालाकी देशको निकासका लागी काँग्रेस संवाहक शक्ति पनि हो ।
यसरी यहाँका राजनीतिक दल र तिनका नेतृत्वकर्ताहरुले जबसम्म राष्ट्रिय चरित्र निर्माण गर्न सक्दैनन्, लगभग समस्या उही हो केवल पात्र बदलिंदै जाने छन् । म किमार्थ यो भनिरहेको छैन कि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही हो तर म यो पनि सोध्न चाहन्छु कि यसो हुनुमा दोषी को–को हुन् ?
प्रधानमन्त्रीको पहिलो कर्तब्य नै संविधानको कार्यान्वयन र कानुनी राज्यको स्थापना गर्नु ।
अब यो अस्थिर खालको शक्ति सञ्चय गर्ने र नागरिककाविरुद्ध प्रयोग गर्ने खालको राष्ट्रिय चरित्रलाई पखाल्न जरुरी छ । स्थिर र समृद्ध नेपालका लागी नयाँ राष्ट्रिय चरित्र निर्माण गर्न नागरिकले पनि चुनावमा नारालाई हेरेर मात्र नभई आबश्यकताका आधारमा सही र गलत छुट्याएर मतदान गर्न सक्नु पर्छ । अनि मात्रै स्थायीत्वको राष्ट्रिय चरित्रले समृद्धि र विकासको बाटो पकड्ने देखिन्छ । होइन भने यही स्वरुपको बर्षौंदेखिको राष्ट्रिय चरित्रले देश समृद्ध बन्न मुस्किल नै पर्ला ।