शतप्रतिशत औषधी खुवाउनेलाई ५० हजार

नेपालगञ्ज – जिल्ला समन्वय समिति, बाँकेले हात्तीपाइले रोगविरुद्ध शतप्रतिशत औषधी खुवाउने पालिकालाई ५० हजार दिने घोषणा गरेको छ ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत जिल्लास्तरीय समन्वय समिति बैठकमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले उक्त घोषणा गर्नुभयो । समन्वय समितिले गतवर्ष २५ हजार दिने घोषणा गरेको थियो । कुनै पालिकाले लक्ष्य पूरा गर्न सकेनन् । ‘गतवर्ष २५ हजार दिने घोषणा गरेको थिए । कसैले लक्ष्य पूरा गर्नु भएन, यसपाली शतप्रतिशत हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने पालिकालाई ५० हजार दिने घोषणा गर्दछु, समन्वय समितिका संयोजक श्रीवास्तवले भन्नुभयो ।
बाँकेमा गतवर्ष ७४ प्रतिशतले औषधी खाएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाभित्र ५३ प्रतिशतले औषधी खाए । बाहिर भन्दा नगरमै औषधी नखानेको संख्या धेरै रहेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दलगायतले औषधी खाएको ठाउँमा बढी फोकस गरेर अघि बढ्नु पर्ने बताउनुभयो । नेपालगञ्जमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका एकै पटक टोलमा पुगेर औषधी खुवाउने तयारी भएको चन्दले जानकारी दिनुभयो ।
बाँकेमा २०६७ सालदेखि औषधी खुवाउन शुरु गरिएको हो । पहिलो वर्ष ९१ प्रतिशत औषधी खाएकोमा त्यसपछि घट्दै गएको छ । बजारमा जाने बुझेका व्यक्तिले नै औषधी नखाएको पाइएको छ । खानेले प्रत्येक वर्ष औषधी खाइरहेपनि नखानेले खादै नखाएको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !