बढैयातालमा सुशासन नीति
नेपालगञ्ज – बर्दियाको बढैयाताल गाउँपालिकाले सुशासन नीति २०७७ निर्माण गरि कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकालाई सुशासनका क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्न नीति निर्माण गरिएको हो ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र, नेपालगञ्जले स्थानीय तहमा सूचनाको हक, सुशासन र पारदर्शिता अभिबृद्धि र प्रभावकारी सेवा प्रवाह गर्नमा सहयोग पुग्ने उद्देश्यले गाउँपालिकाको सुशासन नीति तयार गरेको छ । सुशासन ऐन २०६४ र सुशासन प्रबद्र्धन रणनीति तथा कार्ययोजना २०७४ अनुसार उक्त नीति तयार गरिएको हो ।
संस्थाको प्राविधिक सहयोगमा गाउँपालिकाले तयार गरेको नीतिलाई समुदायस्तरमा नागरिकहरुको सहभागितामा छलफल गरि कार्यन्वयन गर्नका लागि कार्यपालिकाको बैठकबाट पारित गरिएको उपाध्यक्ष दिपा गौतमले बताउनुभयो । उपाध्यक्ष गौतमले पालिकाले गर्ने काममा संस्थाले गरेको प्राविधिक सहयोगप्रति धन्यवाद दिदै सुशासन नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने प्रतिबद्धता गर्नुभयो । संस्थाले गाउँपालिकाको मानवअधिकार निर्देशिका पनि तयार गरेको छ ।