बुद्धनगरमा ‘साइरन’

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८ स्थित बुद्धनगर टोलमा कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभी जडान गरिएको छ ।
समाजमा हुने अपराधलाई निस्तेज पार्न टोल सुधार समितिमा रहेका ३५ घरले सेक्युरिटी साइरन जडान गरेका हुन् । कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभीको आइतबार एक समारोहका बीचमा नेपालगञ्जका उपमेयर उमा थापामगर, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, एसपी ओमबहादुर रानालगायतले उद्घाटन गर्नुभयो ।
बुद्धनगरमा जडान गरिएको साइरन बाँकेमै पहिलो हो । अन्य वडामा पनि कम्युनिटी साइरन जडान गर्ने तयारी भइरहेको छ ।
उपमेयर थापा, प्रजिअ कुरुम्बाङले शान्ति सुरक्षा कायम गर्नमा कम्युनिटी साइरनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
एसपी रानाले अपराध न्यूनीकरणमा कम्युनिटी साइरनले राम्रो भूमिका खेल्ने बताउनुभयो । उहाँले जिल्लामा एक वर्षमा एघार सय मुद्दा हुने गरेको उल्लेख गर्दै टोल टोलमा यस्तो साइरन राख्न सकेमा त्यो संख्या घट्ने दावी गर्नुभयो ।
समितिका अध्यक्ष डा. राजेशकेसर खनाल, सामुदायिक प्रहरी सेवाका दिपेन्द्रकुमार जोशी, समितिका सल्लाहकार धर्मेन्द्र शाहलगायतले टोलमा आपतविपत पर्दा साइरन बज्ने भएकाले सुरक्षा मजबुत हुने बताउनुभयो ।
३५ घरमा साइरन जडान गरिएको छ । एउटा घरमा दुई वटा मोबाइलमा घण्टी बज्ने व्यवस्था मिलाइएको छ । चोरी, आगलागी वा कुनै पनि हिंसा हुने बित्तिकै मोबाइलको कोड नम्बर थिच्ने बित्तिकै ३५ घरमा म्यासेज जान्छ र साइरन बज्छ । दोस्रो पटक कोड नम्बर थिच्दा प्रहरीमा म्यासेज जाने व्यवस्था मिलाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !