हुने भयो, अस्पतालजन्य फोहोर व्यवस्थापन
नेपालगञ्ज – नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुने भएको छ ।
स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रम बीच शनिबार नेपालगञ्ज उपमहानगपालिकाकामा द्विपक्षीय समभ्दारीपत्रमा हस्ताक्षर भएको छ ।
समभ्दारीपत्रमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गर्नुभयो ।
स्वास्थ्यजन्य फोहार व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणहरुको सहयोग जिआईजेडले गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया सुरु गरेको छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा. धवल शमशेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुनु आफैमा ठूलो उपलब्धी भएको बताउनुभयो । उहाँले सम्झौता अनुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाउने बताउनुभयो ।
नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकोमा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द, वडा नम्बर ५ का अध्यक्ष कैफुल वरा जोलाह, कार्यपालिका सदस्य कौशलकुमार धोवी, जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्राविधिक सल्लाहकार सुबास नेपाल लगायतको उपस्थिति थियो ।