कोच पनि भए
क्रमशः
म बेलगाछियाको सिनियर टिमबाट क्रिकेट खेलिरहेको थिएँ । त्यही बेला मलाई मोहम्मडन स्पोर्टिङ सेन्टरमा बिहान आउने जुयिनर केटाहरूलाई प्रशिक्षण दिने अफर आयो । त्यसबापत मासिक पाँच हजार भारु दिने भनियो । त्यो साँच्चै राम्रो अफर थियो, मैले स्वीकारेँ ।
सन् १९८९ को कालीपूजापछि मैले प्रशिक्षण गराउन सुरु गरेँ । त्यो मेरा लागि नयाँ अनुभव थियो । साँझ बुलन मुखर्जीले सिकाउँथे, बिहान जुनियर टिमलाई मैले प्रशिक्षण दिन्थेँ । मेरो मिहिनेतबाट मेरा क्रिकेट प्रशिक्षक मुनब्बर अली प्रभावित भए । सन् १९९१ मा उनले मेरो पारिश्रमिक बढाएर मासिक ७ हजार बनाए । त्यसबाहेक खेलाडी शुल्कको १५ प्रतिशत पाउँथेँ । निःशुल्क खाजा, दुई जोर ट्रयाकसुट
र एकजोर जुत्ता पनि दिइएको थियो ।
नेपाल नफर्किंदासम्म म त्यहाँको कोच भएँ । म प्रशिक्षक हुँदा मोहम्मडन स्पोर्टिङ सेन्टरले यू–१७ अल इन्डिया पेप्सी क्यानोपी ट्रफी जितेको थियो । फाइनलमा ब्रिजेस पटेल क्लिनिकलाई हराएको थियो । नेपाल आउने भएपछि सहायक सुजितकुमारलाई कोच बनाएको थिएँ । पछि थाहा पाएँ, मोहम्मडन कोचिङ सेन्टरमा भएको कोचिङ सेन्टर हाउडा युनियन कोचिङ सेन्टर बनाइयो । त्यसको मालिक मुनब्बर सर नै थिए । मपछिका कोच सुजितले अहिले त्यो सेन्टर हेरिरहेका छन् । बङ्गालको दोस्रो तहको क्रिकेट क्लबमा सुजितको राम्रो पकड भएको छ ।
बाल सखाहरू
पश्चिम बङ्गालमा मेरा सुनौला २४ वर्ष बिते । त्यस दौरान मैले केही साथीहरू कमाएँ । बाबु, राजु, मिन्टु, गौतम, बडाबप्पु, छोटाबप्पु, नजिर, अस्लम, असगर, अक्बर, मनोजसँग स्कुल र क्रिकेटका मैदानमा धेरै रमाएँ ।
सबैभन्दा प्रिय बालसखा सत्येन्द्र गुप्ता लाग्छ । खेलमा प्रवेश गराएर बाटो देखाउने वाईके चौधरी, जाफर अली, नुर आलम भेटेँ । यी चारलाई म कहिल्यै बिर्सिन सक्दिनँ ।
वाईके चौधरी बङ्गालको प्रतिष्ठित नाम हो । उनले इस्टर्न रेलवेबाट खेले, त्यहीँ जागिर खाए । पश्चिम बङ्गालबाट खेल्न नपाएपछि वाईके भाइले त्रिपुराबाट रणजी ट्रफी खेले । जवानीमा गीत पनि राम्रो गाउँथे । वाईकेलाई म क्रिकेटमा ल्याउने पथ प्रदर्शक ठान्छु । उनै त थिए, बहादुरले क्रिकेट खेल्दैनन् भन्ने बुझाइ भएको समाजमा मलाई चिन्ने व्यक्ति । मनोरञ्जनका लागि टेनिस बल खेल्ने एउटा नेपालीलाई उनले बडो प्रेमपूर्वक अघि बढाएका थिए ।
मसँग जेजति प्रतिभा थियो, त्यो उनले त सबैभन्दा पहिले ठम्याएका थिए । वाईकेको जुवा खेल्ने बानी थियो । त्यही खराब बानीले गर्दा अहिले पीडादायी जीवन बिताइरहेका छन् । म आठ वर्ष पहिले कोलकाता जाँदा पनि त्यो देखेँ । समाजमा प्रतिष्ठा कमाएको, आफ्नो सीप भएको व्यक्तिको आर्थिक दुरावस्था देख्दा समेत मैले केही गर्न सकिनँ । उनलाई भेटेपछि मलाई झन् धेरै पीडा भयो । तर, २०१८ को दुर्गा पूजामा कोलकाता घुम्न जाँदा थोरै भए पनि सुधार भएको पाए । खुसी लाग्यो ।
हाम्रो डेराअघिल्तिर सत्येन्द्रको ठूलो घर थियो । उनका बुबा सुन व्यवसायी थिए । सानैदेखि मसँग उसको उठबस थियो । बिहान मर्निङवाकदेखि साँझको नास्तासम्म सँगै हुन्थ्यो । साँझ नास्ता खाँदा सधैँ उसैले पैसा तिथ्र्यो ।
उसँगै कचौरी, तरकारी, अमलेट, चिकनरोल खाँदै रमाएका क्षणहरू एकपछि अर्को सम्झनामा आइरहन्छन् । पछि म सिनियर टिमबाट खेल्न थालेपछि ऊसँग साँझ मात्र भेट हुन्थ्यो । सत्यन्द्रको बानी फुर्किने खालको थियो । जसले जे भन्यो, पत्याइहाल्ने ।
एकपटक कसैले उसलाई तेरो शरीर त बक्सरको जस्तो छ के भनेको थियो, उसलाई बक्सिङ सिक्ने रहर जागिहाल्यो । मर्निङवाक जाँदा सधैँ बक्सरजस्तो व्यवहार देखाउँथ्यो । बक्सिङ सिक्न वाइएमसीए गयो । जब स्पाइरिङका सुरु भयो, रिङमा स्पाइरिङमा उत्रिँदा उसलाई प्रतिद्वन्द्वीले कस्सेर मुक्का हाने ।
उसको तल र माथिको गरेर तीनवटा दाँत झरे । तीन दिन अस्पतालमा उपचार गराएपछि बल्ल उसको बक्सिङको भूत उत्रियो ।
कोलकाता जाँदा भेट भइरहन्छ । ऊ अहिले त्यहाँको प्रतिष्ठित सुन व्यापारी भएको छ । मन्सातलामा घर छ । अर्को नूर आलम भन्ने साथी सेन्ट थोमस स्कुलमा पढ्थ्यो । सेन्ट थोमस कोलकाताको ठूलो स्कुलमा पर्छ ।
म लाजपत हिन्दी हाईस्कुलमा पढ्थेँ । खेल्ने रहर गरेर नूर हाम्रो टोलतिर आउँथ्यो । खेलकै दौरानमा हामी नजिकियौँ । नूरले मलाई यति माया गथ्र्यो कि आफ्ना लागि कपडा किन्दा मलाई पनि किनिदिन्थ्यो । बेल्ट किन्यो भने मेरा लागि पनि किन्थ्यो । यति टाढा नेपालमा छु । तर, उसले आफ्नो बिहेमा मलाई बोलाउन बिर्सेन । आतेजाते भाडासमेत तिरिदियो । बिहेमा र पछि पनि म उसको घर गएँ । श्रीमती लिएर पनि गएँ । उसले आत्मीय स्वागत ग¥यो ।
त्यति भव्यसँग गरेको बिहेवारी भने पाँच वर्षमै डिभोर्समा टुङ्गियो । अहिले ऊ बङ्गाली केटीसँग लिभिङ टू गेदरमा छ । खिदिरपुर एरियामा उसका तीन ठूला घर छन् । अहिले ऊ ठेक्कापट्टाको काम गर्छ ।
जाफर अली मेरो अर्को मिल्ने साथी थियो । अग्लो, हेन्डसम । केटीहरू उसको पछि लाग्थे । जाफरका बुबा मिर कासिम अली भारतका राष्ट्रिय फुटबलर थिए । जाफर क्रिकेटको ठूलो सोखिन भएर निस्क्यो । उसले दोस्रो डिभिजन खेलेरै क्रिकेट यात्रा टुङ्ग्यायो । जाफर, आलम र वाईके भाइ नै त हुन्, मेरो नाम गोपालबाट गोपी बनाउने । त्यसबेला लेखबहादुर भनेर त थोरैले चिन्थे । निकनेम गोपाल थियो । जाफर र आलमले म आउनसाथ गोपी आयो, गोपी आयो भनेर जिस्क्याउन थाले । त्यसरी मेरो डबल निकनेम बन्यो ।
म कोलकाता जाँदा जाफरले आत्मीय व्यवहार ग¥यो । अहिले पनि मेरो कुरा हुन्छ । ऊ अहिले पोर्न एरियाको ठेकेदार भएको छ । पोर्ट एरियाका दादा उदयसिंहको कान्छो भाइ रन्जितसँग मिलेर उसले ठेक्कापट्टाको काम गर्छ ।
हाम्रो एरियामा हिन्दु र मुस्लिमको चाड हुँदा मलाई सम्झिन्थे । दुवै धर्मावलम्बीको कार्यक्रम हुँदा व्यवस्थापन नेतृत्व गर्ने म नै हुन्थेँ । मिलादिन नवी, मोहर्रम, रमजान, इदका बेलामा पानी पिलाउनेदेखि हिन्दुको कालीपूजा, दुर्गापूजामा हुने कार्यक्रममा म अगाडि सार्थें । त्यस बेलाको सक्रियताले अहिले पनि नेतृत्वदायी भूमिका र व्यवस्थापनमा सघाउ पुगिरहेको छ ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)