कोभिड उपचारको नेपालगञ्ज मोडल
कृष्ण अधिकारी (खोज पत्रकारिता केन्द्र) –
कोरोनाभाइरसको संक्रमण फैलिएपछि बिरामीको चाप बढेकोले अस्पतालमा बेड नपाइने, स्वास्थ्य स्थिति गम्भीर बनेका संक्रमितले आईसीयू र भेन्टिलेटर नपाउने अनि कतिपयले अस्पतालमा भर्ना नपाएर मृत्युवरण समेत गर्नुप¥यो । स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुने डरले शुरूमा बिरामीको उपचार गर्न समेत हच्किंदा अवस्था थप गम्भीर बन्यो । तर, नेपालगञ्ज उपमहानगरले कोरोना संकटलाई आफ्नै शैलीमा पार लगाएको छ ।
नेपालगञ्जको नमूना कामको दृष्टान्त हेरौं : बाँकेमा १९ वैशाख २०७७ मा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनलाई त्यही दिन खजुरास्थित आइसोलेसन केन्द्रमा भर्ना गरियो । सहज रूपमा उपचार सेवा पाएर केही दिनमै उनी कोरोनामुक्त भए ।
पहिलो संक्रमित भेटिएलगत्तै बाँकेका स्थानीय जनप्रतिनिधिको अग्रसरतामा खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पतालमा रूपान्तरण गरियो । संक्रमितले राम्रो उपचार र हेरचाह पाइरहे पनि संक्रमितको संख्या बढेपछि ४० बेड क्षमताको क्यान्सर अस्पतालले बिरामी चाप धान्न सकेन । त्यसपछि जनप्रतिनिधिको ताकेतामा संघीय सरकारले भेरी अस्पतालमै कोरोना वार्ड सञ्चालन गर्ने निर्णय ग¥यो ।
“सरकारको निर्णयका भरमा अस्पताललाई चाहिने बजेट, जनशक्ति र स्रोत जोहो हुन सकेन । त्यसैले जिल्ला समन्वय समिति र स्थानीय तहबाट हामीले रु.१ करोड संकलन गरेर सुविधासम्पन्न कोरोना वार्ड निर्माण ग¥यौं”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशमशेर राणा बताउँछन् ।
२५ भदौ २०७७ देखि भेरी अस्पतालमा सञ्चालन गरिएको ७२ बेडको कोरोना अस्पताललालई लुम्बिनी प्रदेश सरकारले चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र थप बजेट उपलब्ध गरायो । संक्रमित बढ्दै जाँदा ७२ बेड पनि अपुग भएपछि स्थानीय जनप्रतिनिधिले बजेट जुटाए ।
त्यसपछि सर्वदलीय, सर्वपक्षीय भेलामार्फत उपभोक्ता समिति बनाएर दुई महीनामै थप ९० बेडको कोरोना वार्ड व्यवस्था गरिएको थियो । त्यसैले संक्रमितको उपचार सहज भएको थियो । हुन पनि भेरी अस्पतालमा अक्सिजन आपूर्तिसहितको १६२ बेडको कोरोना वार्ड सञ्चालन भएपछि संक्रमितले सहजै बेड, भेन्टिलेटर, प्लाज्माथेरापीसहितको निःशुल्क उपचार सेवा पाए ।
बाँकेका स्थानीय तहले आफ्नो स्रोतले भ्याएसम्म आफैंले कोरोना संक्रमितको उपचार गरेको, आफ्नो क्षमताले नभ्याएको अवस्थामा मात्र प्रदेश र संघीय सरकारलाई उपचारमा सघाउन गुहार मागेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर बताउँछिन् । उनको कथन छ, “पर्याप्त बेड, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको भरपर्दो टीम उपलब्ध भएपछि भेरी अस्पतालमा कपिलवस्तुदेखि महेन्द्रनगरसम्मका संक्रमितले उपचार पाए ।”
कोरोना संक्रमितको व्यवस्थापनमा आफैं सक्रिय भइन् उपप्रमुख थापामगर । उनीसहित उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहित १३१ जना स्वास्थ्यकर्मी नेपालगञ्जमा खटिएका थिए । संक्रमितको उपचार तथा व्यवस्थापनमा सक्रिय भएकोले उपप्रमुख थापामगर, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दसहित ८० जना कर्मचारी संक्रमित भए ।
त्यति मात्रै होइन, उपमहानगरका जिन्सी शाखाका कर्मचारी युवराज घलेको ११ भदौ र वडा नम्बर २ का महिला सदस्य शान्ति परियारको ११ कात्तिकमा कोरोनाले ज्यान लियो । उपमहानगरकै शिक्षा अधिकृत दानबहादुर बिष्टको पनि २८ मंसीरमा कोरोनाका कारण मृत्यु भएको थियो । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार १५ माघ २०७७ सम्म नेपालगञ्ज उपमहानगरपालिकामा २ हजार ४२४ जना कोरोना संक्रमित भएका छन् भने २ हजार ३६० जना निको भएका छन् । संक्रमितमध्ये २९ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
स्थानीय जनप्रतिनिधि र प्रशासनको निरन्तर सहयोगकै कारण भेरी अस्पतालले कोरोना संक्रमितहरूको पहिचान र उपचार प्रभावकारी ढंगले अघि बढाउन सकेको भेरी अस्पताल प्रमुख डा. प्रकाश थापा बताउँछन् । संक्रमितको उपचारमा खटिएकोले डा. थापासहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसमेत ९० जना संक्रमित भएका थिए ।
कोरोना संक्रमणबाट मुक्त भएपछि उपमेयर थापामगर र डा. थापालगायतले प्लाज्मा दान गरे । नेपालगञ्जमा हालसम्म ९८ जना सिकिस्त बिरामीले निःशुल्क प्लाज्मा पाइसकेका छन् भने आपतकालका लागि रेडक्रसको रक्तसंचार केन्द्रमा प्लाज्मा तयारी अवस्थामा राखिएको छ ।
दुई पटक कोरोना संक्रमित भएर १४ दिन भेरी अस्पतालमै उपचार गराएका नेपालगञ्जका पत्रकार खगेन्द्र दाहाल भन्छन्, “भेरी अस्पतालले संक्रमितको उपचारमा राम्रो व्यवस्थापन गरेकै कारण हामीजस्ता संक्रमितले पुनर्जीवन पाएका छौं । सरकारी अस्पतालमा यो स्तरको उपचार पाउनु संक्रमितहरूको लागि ठूलो राहत हो ।”
कोरोना संक्रमितको उपचारका लागि भेरी अस्पतालले ७ वटा भेन्टिलेटर खरीद ग¥यो । बिरामीको चाप बढ्दै गएपछि संघीय सरकारले १० वटा, प्रदेश सरकारले दुई वटा भेन्टिलेटर उपलब्ध गराएको थियो भने केयर नेपालले एउटा भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
कोरोना संक्रमणमुक्त भएका बाँकेका प्रजिअ रामबहादुर कुरुम्वाङ भन्छन्, “स्थानीय तहका जनप्रतिनिधि र भेरी अस्पतालका चिकित्सक–स्वास्थ्यकर्मीको समन्वय र सहकार्यकै कारण बाँकेमा कोरोना संक्रमितको उपचार र व्यवस्थापन प्रभावकारी हुनसक्यो ।”
स्थानीय सरकारको सक्रियता
कोरोना संक्रमणको जोखिम आकलन गरेर नेपालगञ्ज उपमहानगरपालिकाले भारतसँगको जमुनाहा नाकामा २० माघ २०७६ मै हेल्थ डेस्क स्थापना गरेर नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य जाँच शुरू गरेको थियो । त्यसको तीन सातापछि दैनिक १० हजार नेपाली भारतबाट फर्कन थाले । त्यसले स्थिति भयावह भयो ।
त्यसपछि उपमहानगरले भारतीय नाकामा दिनहुँ दुई सिफ्टमा स्वास्थ्यकर्मी राखेर स्वास्थ्य जाँच गर्न थाल्यो । उपमहानगरका अनुसार, त्यसक्रममा उपमहानगरका स्वास्थ्यकर्मीले करीब तीन लाख जनाको ज्वरो नापेको र त्यसमध्ये १५ जनालाई एम्बुलेन्समा भेरी अस्पतालको आइसोलेसन वार्डमा पठाएको थियो ।
३ चैत २०७६ मा नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापामगरको पहलमा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय कोरोना संक्रमण व्यवस्थापन तथा सुरक्षा समन्वय समिति गठन गरेको थियो । त्यसले कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लामा कोरोना कोष खडा गर्ने निर्णय ग¥यो ।
समितिकै सक्रियतामा कोरोना संक्रमण व्यवस्थापनका लागि उपमहानगरले निःशुल्क ‘टोल–फ्रि’ नम्बर शुरू ग¥यो । नेपालगञ्जकी उपप्रमुख थापामगरसँगै उद्यमी–व्यवसायी समेतको पहलमा नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा ४० बेडको कोरोना आइसोलेसन केन्द्र समेत स्थापना गरिएको थियो ।
लकडाउन शुरू भएपछि भारतबाट फर्केका र सीमाक्षेत्रमा बिचल्लीमा परेका नेपालीलाई त्यहाँबाट उद्धार गरेर क्वारेन्टिनमा राख्ने र कोरोना परीक्षणपछि आ–आफ्नो गन्तव्यसम्म पु¥याउने प्रबन्ध समेत उपमहानगरपालिकाले गरेको थियो । ९ चैतदेखि उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा २०० जनालाई राख्न सकिने गरी क्वारेन्टिन सञ्चालन गरेको थियो ।
भारतबाट नेपालीको लस्कर फर्किइरहेकोले संक्रमितको संख्या बढ्दै गएका बेला नेपालगञ्जमा कोरोना परीक्षण गर्ने प्रयोगशाला थिएन । नमूना संकलन गरेपछि रिपोर्टका लागि एक हप्ता पर्खनुपथ्र्यो । भेरी अस्पतालमै पीसीआर ल्याब स्थापनाका लागि स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय र प्रदेश सरकारलाई घच्घच्याए । परिणाम, लुम्बिनी प्रदेश सरकारको सहयोगमा ७ वैशाख २०७७ देखि भेरी अस्पतालमा पीसीआर ल्याब सञ्चालन भयो । २०७७ पुस मसान्तसम्म भेरी प्रयोगशालामा ५२ हजार ७२४ जनाको स्वाब परीक्षण भएको छ भने त्यसमध्ये ५ हजार २६३ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्ज धार्मिक तथा सामाजिक सद्भाव कायम राख्नुपर्ने सामाजिक विविधता युक्त संवेदनशील ठाउँ हो । १९ वैशाख २०७७ मा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का मुस्लिम समुदायका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि भएको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा १० महिला र १३ पुरुषसमेत गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भयो । एउटै समुदायका २३ जनामा संक्रमण देखिएपछि मुस्लिमलाई ‘कोरोना फैलाउने समुदाय’ भनेर सामाजिक सद्भाव खल्बल्याउन खोजियो ।
त्यसबाट मुस्लिम समुदायका व्यक्तिहरूलाई आक्रोशित बनाएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेकाहरूले परीक्षणका लागि स्वाब नै दिन मानेनन् । त्यसपछि नेपालगञ्ज उपमहानगरका प्रमुख धवलशमशेर राणासहित उपप्रमुख र केही वडाध्यक्षको सक्रियतामा हिन्दू र मुस्लिम समुदायका धर्मगुरुले नै स्वाबको नमूना दिन अपील गरे । त्यसपछि स्थिति सामान्य बन्यो ।
त्यसो त संघीय सरकारले स्थानीय तहहरूलाई क्वारेन्टिन व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमको मात्र जिम्मेवारी दिएको थियो । तर नेपालगञ्जलगायत बाँकेका स्थानीय तहहरूले संक्रमण व्यवस्थापन, आइसोलेसन केन्द्र–अस्पताल सञ्चालन, सीमा नाकामा स्वास्थ्य जाँचलगायतका काममा आफूलाई स्वस्फूर्त सक्रिय तुल्याए । सीमावर्ती नरैनापुर गाउँपालिकामा ठूलो संख्यामा संक्रमित भेटिएपछि उनीहरूलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले जानकी गाउँपालिकामा रहेको कृषि तालिम केन्द्रलाई आइसोलेसन सेन्टरमा परिणत ग¥यो ।
उपमहानगरकै व्यवस्थापनमा कोहलपुर नगरपालिकाको कृषि तालिम केन्द्र, जानकी गाउँपालिकाको खुला कारागार र कृषि तालिम केन्द्र आइसोलेसन केन्द्रमा परिणत गरिएपछि संक्रमितको उपचार थप सहज बन्यो । क्वारेन्टिन तथा आइसोलेसन केन्द्रमा रहेका संक्रमितलाई अस्पताल पु¥याउन २४ सै घन्टा एम्बुलेन्सको समेत व्यवस्था गरिएको थियो ।
कोरोना संक्रमितको संख्या बढेपछि सरकारले उपचारमा लाग्ने खर्च स्वयं संक्रमितले व्यहोर्नुपर्ने निर्णय गरेपछि संक्रमितहरू समस्यामा परेका थिए । तर, भेरी अस्पतालको कोभिड वार्डमा भने उपचार निःशुल्क छ । यसमा लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश अन्तर्गतका अस्पतालमा संक्रमितको उपचारको जिम्मा लिइदिंदा थप सहज भयो ।
भेरी अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवालाई कात्तिकको पहिलो सातादखि अस्पताल परिसरमै २० रुपैयाँमा खाना खुवाउन थालिएको छ । समाजसेवी संस्था, सुन्दरकाण्ड मित्र मण्डलले शुरू गरेको यो अभियानलाई नेपालगञ्ज उपमहानगरपालिकाले मासिक रु.५० हजार सहयोग गर्दै आएको छ ।
यसबाट दैनिक २००–२५० जना विपन्न बिरामी तथा तिनका कुरुवाले खाना खान पाएको समाजसेवी विजय गुप्ता बताउँछन् । यसबाहेक महामारीले बिचल्लीमा परेका श्रमिकलाई ताल सरसफाइ, वृक्षरोपण, सडक सौन्दर्यीकरण लगायतका काममा लगाएर उपमहानगरपालिकाले आर्थिक राहत समेत दिएको छ ।
बाँकेका आठ वटा स्थानीय तहले गत असार मसान्तसम्म कोरोना शीर्षकमा रु.१८ करोड ७६ लाख ६८ हजार खर्च गरेका छन् । तर, यो खर्चको तुलनामा संक्रमितले पाएको सेवा प्रभावकारी भएको अनुभूति धेरैलाई भएको समाजसेवी गुप्ता बताउँछन् ।