नगर प्रहरी निरीक्षकलाई डेढ वर्ष कैद

नेपालगञ्ज – सुर्खेत जिल्ला अदालतले ‘गाईकाण्ड’मा एक दर्जन व्यक्तिलाई सजाय सुनाएको छ । आधा दर्जनले सफाई पाएका छन् ।
नेपालगञ्जको कान्जीहाउसमा रहेका गाई, गोरु, बाछाबाछीलाई दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगलमा बेवारिसे छोड्दा ३६ वटाको मृत्यु भएको सम्बन्धमा सुर्खेत अदालतले नेपालगञ्ज उपमहानगरपालिकाका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित एक दर्जनलाई सजाय सुनाएको छ ।
अदालतले प्रहरी निरीक्षक बोगटीलाई एक वर्ष ६ महिना कैद र प्रहरी सहायक निरीक्षक विकास गौतमलाई एक वर्ष कैदको फैसला सुनाएको छ । कमल बयक, सुवर्ण तरामीमगर, सुशान्त शाही, चन्द्रबहादुर रानालाई ६ महिना, पवनकुमार कनोजियालाई ५ महिना, धर्मेन्द्र नेपाली र राकेश भारतीलाई तीन÷तीन महिना कैद आदेश भएको छ ।
अदालतले संतृप्त श्रेष्ठ, शत्रुधन चौधरी, अमृत चौधरी, हिमबहादुर जिसी, दामोदर केसी, सागर विश्वकर्मालाई सफाई दिएको छ ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाले दुर्घटनाबस घटना भएकाले कैद सजाय तोकिएका आफ्ना कर्मचारीको पक्षबाट उच्च अदालतमा जाने बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !