खजुरालाई प्लाष्टिकमुक्त गराइने

खजुरा – खजुरा गाउँपालिकाको ८ औं गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालु आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ ।
गाउँसभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आर्थिक वर्ष २०७७-०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिनुभयो ।
संघीय सरकारबाट हस्तान्तरित चालु कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्तरित चालु कार्यक्रम खर्च २ प्रतिशत र पूँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्षपतिले बताउनुभयो । उहाँले सबै वडामा सञ्चालित विभिन्न योजनाहरुको ठेक्का सम्झौत र उपभोक्ता समितिमार्फ हुने काम पनि सञ्चालनमा रहेको बताउनुभयो । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनले जानकारी दिनुभयो ।
अध्यक्ष कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गर्नुभयो । सभाले चालू आर्थिक वर्षमा केही योजनाहरु संसोधन र परिमार्जनसहित पारित गरेको छ । सभामा वडाध्यक्ष तिलकवीर सुनार, देविलाल खनाल, कार्यपालिका सदस्य निसार अलि दर्जी, झुमा योगी, सदस्यहरु देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँले भाग लिएका थिए । चालु आर्थिक वर्षको राजश्व संकलनको अवस्था सुधार रहेको जानकारी गराउँदै अध्यक्ष कक्षपतिले मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९ सय ५६ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !