माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा…

नेपालगञ्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउको हान्न खोज्दा प्रचण्ड भुईमा बजारिएको बताउनु भएको छ ।
बाँकेको खजुरामा आयोजित जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘विगतमा माओवादीको एउटा नीति थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । प्रचण्डले अहिले त्यही नीति अनुसार माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोजेका थिए । माधवले प्रचण्डको भार थेग्न नसक्दा दुवै जना सडकमा पुगे । अनि भन्न थाले, हामी यता छौं ।’
उहाँले प्रचण्डको सत्ता र पदको लोभ र त्यसका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइज्जतिपूर्ण तरिकाले विस्थापित गर्ने षडयन्त्र हुँदा पार्टी यो अवस्थामा आइपुगेको बताउनुभयो ।


नेता पोखरेलले ओली सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि सरकार गिराउने खेल शुरु भएको बताउनुभयो । ‘एक व्यक्ति, एक पदको कुरा निकालियो । त्यतिले नभएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध संगीन आरोप पत्र ल्याइयो, पोखरेलले भन्नुभयो, एक व्यक्ति, एक पद भन्नेहरु अहिले त विघटन भइसकेको संसदको नेतासम्म हुन भ्याए ।’ उहाँले अझै पनि सच्चिएर आएमा प्रचण्डलाई पार्टीमा जिम्मेवारी दिने बताउनुभयो ।
प्रदेश मन्त्री बैजनाथ चौधरी, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक, केन्द्रीय सदस्य देवराज भार, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पार्टी सैद्धान्तका आधारमा नभई पद नपाएकाहरुले दुई चिरा गराएको टिप्पणी गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !