हवल्दारपुरका चिडीमारलाई पक्की घर
नेपालगञ्ज – बाँके हवल्दारपुरका चिडीमारले नयाँ घर पाएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. १४, हवल्दारपुरका ३४ घरपरिवारले पक्की घर पाएका हुन् ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास (चिडीमार) कार्यक्रमअन्तर्गत बराण्डा र शौचालयसहितको दुई कोठे घर बनाएर दिइएको छ । ‘पहिला माटोको घर थियो । सरकारले पक्की घर बनाइदियो, विनोद चिडीमारले भन्नुभयो, ‘हामी खुशी छौं । पक्की घरमा बस्न पाएका छौं ।’
वडा नं. १४ का दुई ठाउँ गरेर ३४ वटा घर बनेका छन्, एक ठाउँमा १५ र अर्को ठाउँमा १९ वटा ।
शहरी विकास तथा भवन कार्यालय, बाँकेले यस्तो घर बनाइदिएको हो । कार्यालयका प्रमुख रामआश्रय शाहले आर्थिक वर्ष २०७६÷७७ मा चिडीमारलाई ६१ वटा घर बनाइदिएको जानकारी दिनुभयो । उहाँका अनुसार, कोहलपुरको वडा नं. १२ मा ३४ वटा, १४ नम्बरमा १५ वटा र १५ नम्बरमा १२ वटा घर बनिसकेका छन् ।
आर्थिक वर्ष २०७६÷७७ मा संघीय सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् । कोहलपुरको वडा नं. ३ मा ५ वटा, वडा नं. १२ मा १० वटा, वडा नं. १३ मा २८ वटा घर बनेका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि वडा नं. १२ मा ११ वटा घर बनाउने सम्झौता भएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा ३३ वटा घर बनेका थिए । वडा नं. १५ मा १४ र वडा नं. १४ मा १९ घर रहेका छन् ।
शहरी विकास तथा भवन कार्यालय, बाँकेका प्रमुख शाहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णय अनुसार एक हजार ३७ र पुरानो संघीय कार्यालयबाट निर्माणाधीन ८ सय २९ वटा गरी एक हजार आठ सय ६६ वटामध्ये एक हजार तीन सय ५५ वटा घर बनिसकेको जानकारी दिनुभयो । शाहका अनुसार, आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास (चिडीमार) कार्यक्रमअन्तर्गत ७१ वटामध्ये ६१ वटा सम्झौता भएर काम सकिएको छ ।
सरकारले एउटा घर बनाउन तीन लाख ३६ हजार रुपैया दिएको थियो । कोहलपुरको वडा नं. १४ मा बनेका घरहरु आइतबार हस्तान्तरण गरिएको छ ।