धर्मसिंह थारुलाई सम्मान
नेपालगञ्ज – शिक्षा पत्रकार समूहले सरस्वती माध्यमिक विद्यालय, भौनियापुर, बाँकेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारुलाई सम्मान गरेको छ ।
निस्वार्थ नेतृत्व र इमान्दार कार्य सम्पादनले अहिले सरस्वती मावि जिल्लाको एउटा राम्रो सामुदायिक विद्यालयका रुपमा उपस्थित हुने तरखरमा रहेको उल्लेख गर्दै शिक्षा पत्रकार समूहले थारुलाई सम्मान गरेको हो ।
समूहले पठाइदिएको २०७६ सालको सम्मानपत्र आइतबार राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले हस्तान्तरण गर्नुभयो । तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सम्मान तथा पुरस्कार छनौट समितिका संयोजक हरि थापा र समूहका अध्यक्ष रोश्ना सुब्बाले हस्ताक्षर गरेको सम्मान पत्र धर्मसिंहलाई दिदै गाउँपालिका अध्यक्ष थारुले यसरी नै सबैले इमान्दारीपूर्वक काम गरेर विद्यालयको सुधारमा लाग्नु पर्ने बताउनुभयो ।
सम्मानपत्रमा भनिएको छ, ‘तीन वर्षको कार्यकालमा तपाईले एक हजार एक सय विद्यार्थी र २२ जना शिक्षकसहित एउटा सुन्दर परिवार बनाउन अथक मिहिनेत गर्नुभयो । यो मिहिनेतले विद्यालयको जीवनमा रंग ल्याएको छ । तपाईले विद्यालय सुधारका निम्ति दिनु भएको योगदानको उच्च कदर गर्दै यहाँप्रति शिक्षा पत्रकार समूह हार्दिक सम्मान प्रकट गर्दछ ।’
सम्मानपत्र हस्तान्तरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर वली, वडा नं. ३ का वडाध्यक्ष गंगाराम थारु, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकलगायतको उपस्थिति थियो ।