चेतनको हत्या अभियुक्त पाँच वर्षपछि पक्राउ

नेपालगञ्ज – चेतन मानन्धरको हत्या अभियोगमा अदालतबाट जन्म कैदको सजाय सुनाइएका नेपालगञ्जका हरि वली र विवाद पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगञ्जका युवा मानन्धरलाई २०७२ असार २८ गते दिउँसो तीन बजे धम्बोझीचोक नजिक सडकमा लखेटीलखेटी खुँडा प्रहार गरेर हत्या गरिएको थियो । घटनामा संलग्न १५ जनामध्ये १२ जना पक्राउ परेका छन् भने तीन जना फरार रहेका छन् । पक्राउ परेका नौ जना हाल कारागारमा रहेका छन् ।
फरार रहेका पाँच जनामध्ये दुई जनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका वली र पाठक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकादोका हुन् । बाँकेका एसपी ओमबहादुर रानाले अभियुक्तहरु नेपालगञ्जमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गर्न सफल भएको बताउनुभयो । एसपी रानाले फरार रहेका तीन जनाको खोजी भइरहेको जानकारी दिनुभयो । ‘तीन जना फरारमध्ये एकजना न्यूजील्याण्डमा पुगेको सूचना आएको छ । उसलाई इन्टरपोलमार्फत ल्याउन पत्राचार भइसकेको छ, एसपी रानाले भन्नुभयो, अरु दुई जनाको खोजतलासका लागि टोली खटाइएको छ ।’


error: यो सुविधा उपलब्ध छैन !