कर्मचारीलाई तालिम

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहजताका लागि कर्मचारीहरुलाई तालिम दिन थालिएको छ ।
कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोच तथा व्यवस्थापन सम्बन्धि तालिम शुक्रबारदेखि शुरु भएको हो । तालिमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले अन्य सरकारी कार्यालय र स्थानीय तहमा काम गर्ने तौर तरिका फरक भएको भन्दै तालिमपछि सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले कर्मचारी समायोजनपछि तालिम आयोजना भएकाले कार्यालयमा देखिएका केही समस्या समाधानका लागि समेत कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गर्नुभयो । जनचाहना पुरा गर्नेतर्फ कर्मचारीहरुको ध्यान जानुपर्नेमा राणाले जोड दिनुभयो ।
उपप्रमुख उमा थापामगरले जनमुखी स्थानीय प्रशासनका लागि तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । ‘जनताले अनावश्यक दुःख नपाउन भन्नेमा जनप्रतिनिधिसँगै कर्मचारीकोे पनि ध्यान जानुपर्छ थापाले भन्नुभयो, सबैपक्षबीच समन्वय र राम्रो सहकार्य बनाउन यसखालका कार्यक्रमले पक्कै पनि सहयोग पुग्ने छ ।’
नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले उपमहानगरपालिकामा बर्षौदेखि कार्यरत र समायोजनापछि आएका कर्मचारी कार्यरत रहेको भन्दै सीप र ज्ञान आदानप्रदानबाट राम्रो सेवा प्रवाह गर्न सकिने बताउनुभयो । जिआईजेडका बरिष्ठ अधिकृत निराजन सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकासँग पुरानो सहकार्य भएको भन्दै विकासको क्षेत्रमा नमूना बनाउन जनप्रतिनिधि र कर्मचारी सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
जिआईजेडको सहयोगमा भएको तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख राजन केसीले गर्नुभएको थियो । तालिमको उद्घाटनमा प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का लगायतको सहभागिता थियो ।


error: यो सुविधा उपलब्ध छैन !