हुम्लामा हिमपात, नेपालगञ्जमा चिसो
नेपालगञ्ज – हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । आइतबार दिउँसोदेखि हिमपात परेको छ ।
प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले आइतबार बेलुकादेखि निरन्तर हिमपात भइरहेको जानकारी दिनुभयो ।
हिमपात भएसँगै चिसो बढेको छ । तापक्रम माइनस सात डिग्रीसम्म झरेको छ । जमिनमा आधा फिट हिउँ जमेको छ ।
उत्तरी नाम्खा गाउँपालिकामा बिहानदेखि हिमपात भइरहेको सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो ।
बिहानदेखि नारा, न्यालु तथा अन्य लेकसहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेर घरबाहिर निस्कन समस्या बनाएको केसीले बताउनुभयो ।
हिमपात हुँदा किसानहरु भने खुशी भएका छन् । जेठासी बाली जौँ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा छरेको बीउ उम्रर्न सहज हुने गर्दछ ।
हिमाली क्षेत्रमा हिमपात हुँदा तराईको जिल्ला नेपालगञ्जमा चिसो हावा चलेको छ । केही दिनदेखि निरन्तर लागेको घाम मधुरो भएको छ ।