शिक्षक अनुपस्थित, विद्यार्थी मोबाइलमा व्यस्त

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, शिक्षा शाखाले नेपालगञ्जका विद्यालयहरुको अनुगमन गरेको छ ।
शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाको टोलीले बजारका केही स्कूलमा अनुगमन गरेको हो ।
कोरोना कहरपछि खुलेका स्कूलहरु कसरी सञ्चालन भइरहेका छन् भन्नेबारेमा स्थलगत अनुगमन गरिएको थापाले जानकारी दिनुभयो ।
युद्ध संस्कृत मावि, सरस्वती मावि, नारायण स्कूल र अनाथालय गौसिया माविको अनुगमन गरिएको थियो । युद्ध संस्कृत मावि र गौसियामा शिक्षक र विद्यार्थीको उपस्थिति कम देखिएको थियो । युद्ध संस्कृतमा १३ जना शिक्षक रहेकोमा ५ जना मात्रै उपस्थित थिए । केही शिक्षकहरु लगातार १० दिनदेखि नआएको पाइएको थियो । शिक्षकहरुको नियमितता नभेटिएपछि थापाले उनीहरुलाई गयल गरिदिनु भएको छ ।
विद्यार्थीको उपस्थिति पनि न्यून देखिन्थ्यो । रजिष्टरमा रहेको भन्दा आधा कम विद्यार्थी कक्षामा भेटिएका थिए । यो समस्या युद्ध संस्कृत र गौसियामा देखियो । यी दुई स्कूलका कुनै कुनै कक्षामा त एकजना पनि विद्यार्थी थिएनन् । युद्ध संस्कतको नौ कक्षाका विद्यार्थी कक्षा कोठामा मोबाइल चलाएर बसिरहेको पाइएको थियो ।
सरस्वती स्कूलमा विद्यार्थीको उपस्थिति राम्रो देखिन्थ्यो । त्यहाँ दुई सिफ्टमा पढाई रहेको छ । नारायण स्कूलमा पनि आधा आधी विद्यार्थी आएको पाइएको छ । कोरोना कहरपछि नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । केही विद्यार्थीले भने मास्क नलगाइ स्कूल आएको पाइएको थियो । शिक्षा शाखाका प्रमुख थापाले मास्क नलगाई आउने विद्यार्थीलाई स्कूलमा प्रवेश नदिन निर्देशन दिनु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई मर्जको रणनीति बनाउदा ठूल्ठूला कुरा गर्ने विद्यालयहरुमा न त विद्यार्थी भेटिए, न त शिक्षक नै । शिक्षा शाखाका प्रमुख थापाले बजार भित्रका युद्ध संस्कृत र गौसियामा विद्यार्थी र शिक्षकको नियमिततामा समस्या रहदै आएको जानकारी दिनुभयो ।
थापाका अनुसार, नगरभित्रका सबै विद्यालयहरुको अनुगमन गरेर कोरोना पछिको स्कूलको अवस्थाका बारेमा रिपोर्ट बनाउने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !