उपन्यास ‘लभइन जेरुसलेम’ : एक दृष्टि

प्रा.डा. जर्नादन आचार्य (नेपालगञ्ज) – २०७७ साल आश्विनमा पैरबी वुक हाउस प्राली पुतली सडक काठमाण्डौवाट प्रकाशित कल्पना खरेलद्वारा लिखित उपन्यास लभइन जेरुसलेम हात परेको पनि झण्डै–झण्डै एक महिना पुग्न थालेछ । आफ्नै व्यक्तिगत बेफुर्सदीका कारण एकै बसाइमा यो उपन्यास हेर्न समय मिलेको थिएन । तर किताव र यसको शिर्षकले नहेरी छुट्टि दिएन । त्यसैले केही समय खर्चेर भएपनि यसलाई आद्योपान्त पढे । त्यो पढाईले यो सानो आलेख तयार गर्न प्रेरित ग¥यो । यो छोटो आलेख यो उपन्यास बारेको मेरा अनुभूतिहरुको सानो संगालो मात्र हो । म कुनै आधिकारीक समालोचक वा आलोचक पनि हैन । त्यसैले यो उपन्यास पढ्दा पाठको हैसियतमा मैले जे भेटे तीनै अनुभूतिहरुलाई समेटेर यो छोटो लेख तयार भयो ।
पैरवी बुक्स प्राली काठमाण्डुद्वारा प्रकाशित यो उपन्यासको बाह्य आवरणदेखि लिएर केही साना प्राविधिक कमि कमजोरी वाहेक सबै प्रशंसनीय छन् । यस उपन्यासको शिर्षक रोचक हुनुका साथै युवा पिडीका पाठहरुलाई आकर्षण गर्न सफल हुनेमा म विश्वस्त छु । लेखक कल्पना खरेल यस क्षेत्रकै स्थापित कथाकार, उपन्यास लेखिकाका अतिरिक्त सफल गितकार पनि हुन् । ‘लभ इन जेरुसलेम’ भन्ने उपन्यासले आउँदा दिनमा उनलाई उपन्यासकारका रुपमा स्थापित गर्ने छ भन्नेमा म विश्वस्त छु ।
यो उपन्यास (२३० पृष्ठ) को र पैतिस भागमा विभक्त छ । हरेक खण्ड विशिष्ट खाले छन् । यस उपन्यासले संक्षिप्तमा समग्र इजराइललाई समेटेको छ । विदेश नगएकाहरुका लागि उपन्यासमा परदेशको जीवन शैली र त्यो परिवेशमा एउटा नेपाली नारीले भोग्नु पर्ने कथा र व्यथा र समेटिएका छन् । विदेश जानु पर्ने वाध्यताहरुवारे उपन्यासकारले दुखेसाहरु समेटेकी छन् । वाध्यताले थिच्यो मलाई, भाग्यले मिच्यो मलाई दोष कसलाई दिनु छ र जिन्दगीले किच्यो मलाई (पेज ९) पराया देश, फरक संस्कार र फरक परिवेशबाट विदेशिएकी एउटा नारीलाई आईपर्ने कतिपय समस्यावारे उल्लेख छ । भने अर्कोतिर नेपाली समाज र सरकार प्रतिको आक्रोश पनि उत्तिकै छ । (पेज ११)
नेपालमा रोजगारी छैन । के गरेर वस्ने ? पहुँच हुनेको चल्छ । राजनीति गर्नेको चल्छ । जसको पावर छ उसैको रजाई छ । समाजमा व्याप्त विसंगतिबारे कटाक्ष गर्दै सर्वसाधारणको केही छैन । योग्यताको भ्यालु छैन । पावर र लिङ्क चल्छ । राजनीति हावी छ । जताततै ‘भ्रष्टाचारले चुर्लुम्मै डुवाईसक्यो देश’ भन्दै नेपाल र याहाँको राजनीतिक व्यवस्था माथि सरल र सामान्य पाराले व्यग्य कसको छ भने रमाउन सक्नु पर्ने रहेछ । जिउन जान्नु पर्ने रहेछ । (पेज.२७) भन्दै परिस्थिसँग जुध्नु र त्यसको सामना गर्ने हौसला प्रदान गरेको देखिन्छ । एंव क्रमले उपन्यास पढदै जादा रोजगारीका लागि विदेशिने युवा युवतीहरुलाई यस उपन्यासले विविध मन्सायले इजराइल जान चाहने जो कोहीलाई त्यहाँको समाज, ठाँउका र परिवेशवारे जानकारी उपलब्ध गराएको छ । यो उपन्यासले घर परिवारवाट टाढा रहदाँको पीडा, सामाजिक असुरक्षा अनि एउटा महिला वा पुरुषमा एक अर्को प्रति हुने आकर्षण र त्यो वढ्दै गएर प्रेममा परिवर्तन हुने सम्बन्ध बारे पनि खुल्ला दिल्ले यसरी व्यक्त भएको छ । प्रेम आफै हुदो रहेछ । प्रकृतिको नियम यस्तै । न जातभात हर्ने प्रेमले, नभूगोल …..न आफ्नो भाषा चाहिने…….न त रुप छ प्रेमको नत आकार (पेज ३५) भन्दै प्रेम र त्यसवाट हुने आनन्दवारे उपन्यासकारको विचार कुनै प्रेमरसको दार्शनिक भन्दा फरक देखिदैन । एवं क्रमले यो उपन्यासमा वयस्क पाठकहरुलाई मनपर्ने सामाग्रीहरुको पनि प्रचुरता छ । पछाडीका भागहरुमा विदेशका काम गर्दाको पीडा अनि घर प्रतिको जिम्मेवारीको मारमा च्याँपिएका एकथरी महिलाको आक्रोश पनि समेटिएको छ ।
उपन्यासको अर्को पाटो भनेको शसस्त्र द्वन्द्वको बेला गाउँ घर तिर दिन दिनै जस्तो देखा पर्ने हतियार धारी लडाकुहरुको हुल अनि उनिहरु कै हप्काईमा उनीहरुलाई नै मिठो मसिमो खवाउनु पर्ने, स्वागत गर्नु पर्ने जस्ता बाध्यात्मक ग्रामिण परिवेश र त्यसवाट जोगिनका लागि सबै विर्सेर लाचार भएका गाउँवासीको व्यथा पनि समेटिएको छ । उपन्यासकारमा स्वदेशी पुरुष र उनीहरुका व्यवहार र उनीहरुको हैकमी स्वभाव प्रति आक्रोश समेटिएको छ भने रोजगारका लागि विदेशिएका नेपाली पुरुष कामदार वा महिला कामदारहरुले भाषा वा अन्य कागजी प्रकियाका कारण दैनिक जसो सामना गर्नु पर्ने समस्या र इमिग्रिएनको झन्झटवारे पनि उपन्यासमा चर्चा गरिएको छ भने इजराइलमा विदेशी महिलालाई उपलव्ध हुनसक्ने ‘गर्लफ्रेण्ड भिसा’ वारे पनि चर्चा गरिएको छ । जसले ‘लिभिङग टुगेदर’ लाई कानुनी मान्यता प्रदान गर्ने जस्ता कुरा समेटिएका छन् । जसले गर्दा पाठकहरुलाई उपन्यास प्रति थप कौतुहल प्रदान गर्दछ । समग्रमा ‘लभइन जेरुसलेम’ सबै वर्ग र उमेर समूहका महिला र पुरुषहरुका लागि पठनीय त छदै छ त्यस माथि विवाह सम्पन्न भएको केही दिन मै तरुनी पत्नि वा पतिलाई छाडी परदेश जानुको मानसिक पीडा एकातिर हुन्छ भने अर्को तिर यौन कुण्ठाका कारण हुने शारीरिक र मानसिक पीडाको कथा पनि वेग्लै छ । प्रस्तुत उपन्यासले महिला मनोविज्ञानवारे पनि प्रकाश पारेको छ भन्दा ठिकै होला । (पेज.१९२)
समग्रमा एउटा पाठकको नजरमा यो उपन्यासले समकालिन नेपाली समाज, त्यसवाट उव्जिएका सामाजिक तथा पारिवारीक विखण्डनको अवस्था अनि पति वा पत्निको विदेश वसाईले हुने पारिवारीक विघटन अनि वावु आमा माझको मनमुटावका कारण वाल वालिकाहरुमा पर्ने नकारात्मक असरका सम्बन्धमा पनि यस उपन्यासकी लेखिकाले चर्चा गर्नुभएको छ । जसले समाजको भयावह स्थितिवारे पाठकलाई समेत सुसूचित गर्ने काम गरेको छ । यो उपन्यास ‘लभ इन जेरुसलेम‘ सबै उमेरका पाठहरुका लागि पठनीय र मननीय भएको मैले पाएको छु । आधुनिक समकालिन उपन्यासहरु यथार्थ परक र वास्तविक घटनामा आधारित भएर लेखिएको पाइन्छ । जसमा सुखद र दुखदका घटनाहरु पनि समावेष गरिएका हुन्छन् । जो निकै मनमोहक वा घिनलाग्दा पनि हुन सक्छन् । आधुनिक युग विखण्डन वा एकिरणको युग हो । त्यसैले धेरैजसो उपन्यासहरुमा द्वन्द्व (समाजिक पारिवारिक) र निराशा समेटिएका हुन्छन् । तर कल्पना खरेलको यो उपन्यास ‘लभ इन जेरुसलेम’ ले आशावादी लए समेटेको मैले पाएको छु । यद्यपी वर्तमानमा स्थापित हाम्रा मूल्य र मान्यताका आधारमा उपन्यास की लेखिका कल्पना खरेलले धेरै आलोचनाहरु पनि सुन्नु पर्ने हुनसक्ने मेरो अनुमान छ । जेहोस यस उपन्यासकी लेखिका कल्पना खरेललाई मुरीमुरी बधाई र शुभकामना । अस्तु ।


error: यो सुविधा उपलब्ध छैन !